काठमाडौं- महालेखा परीक्षकको कार्यालयले नीतिगत एवं आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको क्षेत्राधिकारमा रहेको ३ सय ४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र दुई करोड रुपैयाँ बराबरको घरमा गरिएको सेयर लगानीको कुनै हिसाब-किताब नभएको भन्दै महालेखाले कारबाहीका लागि सिफारिस गरेको हो।
सुरुमा ३९.७७ प्रतिशत गरिएको सेयर लगानी घटेर हाल ९.०१ प्रतिशत कायम भएको छ। यस्तै, बाँकी रहेको १५४ रोपनी जग्गा पुनः मूल्यांकन गर्ने विषयमा संसद्को सार्वजनिक लेखा समितिले पटक पटक निर्देशन दिएको थियो। समितिको निर्देशन समेत कार्यान्वयन नभएको भन्दै महालेखाले जिम्मेवार अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको हो।
यस्तै, समितिको न्युरोडस्थित भवनको पसल भाडाबापतको बक्यौता ३८ लाख ७७ हजार रहेको छ। सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई सम्झौता तथा प्रचलित कानुनअनुसार बक्यौता असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो।
सञ्चित नाफा कमाउने उद्देश्यले नै कुनै पनि व्यापार व्यवसाय गरिन्छ, तर तारागाउँ विकास समितिले सञ्चालनको २५ वर्षसम्म कुनै प्रतिफल नदिएको पाइएको महालेखाले औंल्याएको छ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार समितिले आर्थिक वर्ष २०५०/५१ मा तारा गाउँ रिजेन्सी होटल लिमिटेडको साधारण सेयरमा १७ करोड लगानी भएको थियो। त्यसमा १ सय ५० रोपनी जग्गाको मूल्य १५ करोड र घरको मूल्य दुई करोड रुपैयाँ मूल्यांकन गरिएको थियो। लगानीबापत ३९.७७ प्रतिशत सेयर प्राप्त गरेकामा हालसम्म सेयर लगानीबाट प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ।
समितिको स्वामित्वमा रहेको, १ सय ५० रोपनी जग्गा हाल तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई भाडामा दिएकामा जग्गाको पुनःमूल्यांकन हुन सकेको छैन।
बौद्धस्थित अधिग्रहणबाट प्राप्त ३ सय ४ रोपनी जमिनमध्ये बाँकी १ सय ५४ रोपनी जग्गा होटल सञ्चालनमा आएको पाँच वर्षभित्र सोही होटलबाट निष्कासित १७ प्रतिशत अग्राधिकार सेयर वा साधारण सेयरमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो।
संसद्को सार्वजनिक लेखा समितिले २०५० साल पुस २१ गते र २०५० साल चैत १८ मा घर जग्गाको यथार्थ मूल्यांकन गर्न निर्देशन दिएको थियो।
समितिले १ सय ५० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्ताव अनुसार नै समितिले तोकेको मूल्यांकनलाई स्वीकार गरी प्रचलित नियम अनुसार होटल सञ्चालन गर्न समितिसँग सम्झौता भएको थियो। तर, नियमसंगत तवरले सम्झौता नभएको र प्रतिफल कमाउन स्थापना गरिएको संस्थाले नियम अनुसार काम नगरेको भन्दै महालेखाले समितिलाई आफ्नो हितलाई ध्यानमा राखी कारबाही अगाडि बढाउनुपर्ने देखिएको जनाएको छ।
तारागाउँ रिजेन्सी होटेल लिमिटेडले प्रकाशित गरेको आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरणअनुसार होटेलको सेयर पुँजी एक अर्ब ८९ करोडको ९.०१ प्रतिशतले रु १६ करोड ९९ लाख मात्र समितिको सेयर देखिएको छ। उक्त परिमाणको सेयर र जग्गाको यथार्थ मूल्यांकन नभएको महालेखाको भनाइ छ।
तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलले महालेखाले औंल्याएको कमजोरी यथार्थसँग नजिक रहेको उल्लेख गर्दै थप अनुसन्धान हुनुपर्ने बताए।
उनका अनुसार होटलले राम्रै नाफा कमाए पनि खर्च बढी देखाएर २५ वर्षसम्म घाटामा रहेको देखाएको पाइएको छ। विगत १० वर्षदेखि होटल नाफामा नै रहेको जानकारी आफूलाई प्राप्त भए पनि होटल व्यवस्थापनले सधैँ घाटा देखाउने गरेको अध्यक्ष लुइँटेलको भनाइ थियो।
जग्गाको पुनःमूल्यांकन गरी हिसाब-किताब पारदर्शी बनाउनुपर्ने माग आफूले विगतदेखि नै राख्दै आएको, सञ्चालक समितिको बैठकमा समेत सहभागी नभएको जानकारी दिँदै अध्यक्ष लुइँटेलले बजार मूल्य अनुसार जग्गाको मूल्य १५ अर्ब रुपैयाँ बराबर रहेको बताए।
उनले भने, 'हिसाब पारदर्शी नभएका कारण सञ्चालक समितिको बैठकमा विगत साढे दुई वर्षदेखि म सहभागी छैन। महालेखाले सबै हिसाब नियन्त्रणमा लिएर थप अध्ययन गर्नुपर्यो। जग्गाको पुनःमूल्यांकन गर्नुपर्यो। फर्जी हिसाब देखाएर होटल व्यवस्थापनले घाटा देखाइरहेको छ।'
अध्यक्ष लुइँटेलका अनुसार सो कम्पनीमा ४८ हजार सेयरधनी छन्। होटल सञ्चालकको सुरुवाती चरणमा १ सय ५० रोपनी जग्गाको मूल्यांकन गरी रु १५ करोड लगानी गरिएको भए पनि हालसम्म प्रतिफल प्राप्त हुन सकेको छैन। होटल व्यवस्थापनले सुरुमा रु २५ करोड लगानी गरेको थियो।
हाल सो होटलको अध्यक्षमा भारतीय नागरिक राधेश्याम सर्राफ, अरुण सर्राफ प्रबन्ध निर्देशक, दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठ लगायतले व्यवस्थापन गर्दै आएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।