काभ्रे- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढेसँगै संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि वैकल्पिक दुई स्थान चयन गरी स्थलगत अवलोकन गरेको छ। मंगलबार संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नागरिक उड्डयन प्राधिकरणको टोलीले बनेपाको नागीडाँडा तथा धुलिखेलको ठूलीचौरको स्थलगत अवलोकनका साथै जनप्रतिनिधि, स्थानीयबासी र पत्रकारसँग अन्तर्क्रिया गरेको हो।
नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेका दुवै स्थान र अर्को धुलीखेलकै चिसापानी ठूलीचौरको अवलोकन गर्दै पर्यटनमन्त्री अधिकारीले १५ दिनभित्र कुन स्थान उपयुक्त हुन्छ भन्ने निचोडमा पुग्ने बताए। 'मैले एक सय दिनमा पूरा गर्ने कामको सूचीमा काठमाडौंका लागि वैकल्पिक आन्तरिक विमानस्थलबारे टुंगो लगाउने विषय समेटेको छु,' मन्त्री अधिकारीले भने, 'अब २ दिनभित्र विज्ञहरुको टोली बनाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिनेछु, त्यसपछि कुन ठाउँ प्राविधिक, भौगोलिक र आर्थिक हिसाबले उपयुक्त छ, त्यो ठाउँ चयन हुन्छ र निर्माणको प्रक्रिया अघि बढ्छ।'

स्थलगत अवलोकनपछि धुलिखेलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक (डिजी) सञ्जीव गौतमले काठमाडौंमा हवाई चाप दिनानुदिन बढिरहेकाले वैकल्पिक एयरपोर्ट बनाउनैपर्ने अवस्था आइसकेको बताए। 'अहिले वार्षिक ७० देखि ७५ लाख यात्रु त्रिभुवन विमानस्थलले धानेको छ। अन्तर्राष्ट्रिय ट्रेन्ड हेर्ने हो भने पनि हरेक १५ वर्षमा हवाइ यात्रुको संख्या दोब्बरले बढ्ने गरेको छ,' उनले भने, 'काठमाडौं नजिक अर्को वैकल्पिक विमानस्थल कहाँ हुन सक्छ भनेर हामीले अध्ययन गरिरहेकै थियौं।'
नागीडाँडाको सम्भावना
काभ्रेको बनेपा नगरपालिकामा पर्ने नागीडाँडा दूरीका हिसाबले काठमाडौं उपत्यकाबाट नजिकै पर्ने स्थान हो। अरनिको राजमार्गबाट २ किलोमिटरको दूरीमा रहेको नागीडाँडामा ८ सय वा १२ सय मिटर लम्बाइको रनवे बनाउन सकिने सम्भावना छ। प्राधिकरणका डिजी गौतमका अनुसार ८ सय मिटरको रनवे बनाउँदा २० मिटरको हाराहारीमा माटो काट्नुपर्ने हुन्छ भने १२ सय मिटरको रनवे बनाउँदा ५० मिटरसम्म माटो काटेर निर्माण गर्नुपर्ने हुन्छ।

नागीडाँडामा ३ सय मिटरको चौडाइ राख्न मिल्ने स्थान छ। जहाँ २० वटासम्म साना जहाज पार्किङ गर्न पुग्नेछ। यसैगरी, नागीडाँडाबाट बाटोको निकास पनि सहज देखिन्छ। त्यहाँबाट काभ्रेको बनेपा, पनौतीका साथै ललितपुरसमेत निस्कन सक्ने सडक कनेक्टिभिटी छ।
यसैगरी, नागीडाँडामा २० देखि २५ प्रतिशत मात्र निजी जग्गा रहेकाले अधिग्रहण र मुआब्जाका लागि सहज हुन सक्ने प्राधिकरणको बुझाइ छ। समुद्र सतहबाट करिब १८ सय मिटरको उचाइमा रहेको नागीडाँडामा ७५ प्रतिशत हिस्सा सामुदायिक वन अन्तर्गत पर्छ।

नागीडाँडा
'नागीडाँडामै विमानस्थल बनाउनुपर्छ। योभन्दा उपयुक्त अर्को ठाउँ छैन। यहाँ कुहिरो र बादलले दुःख दिएको थाहा छैन,' बनेपा नगरपालिका ११ का वडाध्यक्ष शिवकुमार थापाले भने, 'भक्तपुर-बनेपा सडक ६ लेनको बनाउनासाथ ट्राफिक समस्या पनि रहँदैन। धुलीखेल र बनेपामा पनि जाम हुँदैन।'
ठूलीचौरका कठिनाइ
एयरपोर्ट निर्माणका लागि प्रारम्भिक अध्ययन गरिएको धुलीखेल नगरपालिकाको ठूलीचौरमा अहिले नेपाली सेनाको ठूलीचौर पोस्ट छ। त्यहाँ विमानस्थल निर्माण गर्ने हुँदा सैनिक पोष्टका लागि समेत अर्को स्थान खोज्नुपर्ने हुन्छ। धुलीखेलदेखि करिब ३ किलोमिटरको दूरीमा र समुद्र सतहबाट करिब १८ सय मिटरकै उचाइमा रहेको ठूलीचौरमा १२ सय मिटरको रनवे निर्माण गर्ने हुँदा धेरै माटो काट्नुपर्ने र पुर्नुपर्ने अवस्था देखिन्छ।

ठूलीचौरको सैनिक पोस्ट
यसैगरी, ठूलीचौरमा रहेको मन्दिर र स्थानीयका लागि घुमफिर गर्न आउने स्थानका कारण त्यहाँका स्थानीयबासीले त्यसलाई मास्न नहुने बताउँदै आएका छन्। मन्त्री अधिकारीले ठूलीचौरलाई चयन गर्ने विषयमा भने, 'यहाँ केही धार्मिक महत्वका कुराहरु पनि छन्, त्यसबारे हामी छलफल गरेर उचित निष्कर्ष निकाल्छौं।'
ठूलीचौरमा प्रारम्भिक अनुसन्धान अनुसार ३० देखि ४० प्रतिशत मात्र सामुदायिक जग्गा छ भने ६० देखि ७० प्रतिशत निजी जग्गा पर्छ। प्राधीकरणका अनुसार धेरैभन्दा धेरै व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने अवस्थामा लागत बढ्न जान्छ भने थप स्थानीय तहका समस्या पनि आउन सक्छन्।
स्थलगत अवलोकनपछिको अन्तर्क्रियामा धुलीखेलका पर्यटन व्यवसायी अरुण श्रेष्ठले धुलीखेलमा एयरपोर्ट बनाउनु नहुने तर्क गरे। '३० वर्षअघि पनि यो कुरा उठेको थियो। अहिले काठमाडौंमा चाप भयो भनेर धुलीखेल आउने कुरा भइरहेको छ। एयरपोर्ट बनाउने कुरामा २० वर्षपछि के होला भनेर सोच्नुपर्छ। अब किन चाहियो धुलीखेललाई एयरपोर्ट?' मन्त्री अधिकारी र जनप्रतिनिधिसमक्ष आफ्ना कुरा राख्दै उनले स्पष्ट भने, 'धुलीखेल अब पर्यटकीय गन्तव्य बनिसकेको छ। शैक्षिक हब बनिसकेको क्षेत्र हो यो। यहाँको पर्यावरण खल्बल्याउनु हुँदैन।'

ठूलीचौर
यसैगरी, प्राधिकरणले प्रारम्भिक अध्ययन समेत नगरेको चिसापानी ठूलीचौरमा एयरपोर्ट बनाउन सकिने धुलीखेल-११ का वडाध्यक्ष विष्णु धितालले बताए। उनले ठूलीचौरबाट नजिकै रहेको चिसापानी ठूलीचौरमा अधिकांश जमिन सामुदायिक वनभित्र पर्ने भएकाले अधिग्रहणमा समस्या नआउने बताए। उनले भने, 'ठूलीचौरभन्दा धुलिखेल ११ र १२ को सिमानामा पर्ने चिसापानी ठूलीचौर एयरपोर्टका लागि उपयुक्त छ। त्यहाँ सार्वजनिक जग्गा मात्र छ। हामी सहयोग गर्न तयार छौं।'
कस्ता विमान जालान्?
संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा बनाउन खोजेको वैकल्पिक आन्तरिक विमानस्थलमा अधिकतम १२ सय मिटरको रनवे हुनेछ। प्राधिकरणका डिजी गौतमका अनुसार अहिलेसम्मको अध्ययन अनुसार नागीडाँडा र ठूलीचौर दुवै स्थानमा बढीमा १२ सय र कममा ८ सय मिटरको रनवे बन्नेछ। जहाँ अधिकतम २० सिट क्षमताका भन्दा ठूला जहाज जान सक्दैनन्।
टि्वनअटर, डोर्नियरजस्ता साना जहाज र हेलिकोप्टरका लागि मात्र काभ्रेमा बनाउने भनिएको विमानस्थल उपयुक्त हुन्छ। डोर्नियरका लागि पिच अनिवार्य हुनुपर्छ।
प्राधिकरणका अनुसार ८ सय मिटर रनवेको विमानस्थल बनाउन साढे ३ अर्ब र १२ सय मिटर रनवेको निर्माण गर्न ५ अर्ब रुपैयाँ अनुमानित लागत लाग्नेछ।
काभ्रेको कुनै एक ठाउँ निश्चित गरेर सानो विमानस्थल बनाउने हो भने, त्रिभुवन विमानस्थलबाट पहाडी क्षेत्रमा उड्ने र अवतरण हुने साना विमानलाई त्यहाँ लैजान सकिनेछ। यसैगरी, अधिक मात्रामा हुने लुक्ला वा माउन्टेन फ्लाइटलाई काठमाडौंबाट सार्न सकिनेछ। जसले त्रिभुवन विमानस्थलको हवाइ चापलाई केही मात्रामा घटाउन सहयोग गर्नेछ। अहिले काठमाडौं बेस भएर ३० भन्दा कमको संख्यामा साना जहाजले सेवा दिइरहेका छन्।

जनप्रतिनिधि के भन्छन्?
पर्यटनमन्त्री अधिकारीसँगको अन्तर्क्रियामा काभ्रेका प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिले काभ्रेको विकासका लागि विमानस्थल आवश्यक रहेको औंल्याए।
काभ्रे २ का सांसद एवं सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले काभ्रेमा वैकल्पिक विमानस्थल बनाउने भनेर चर्चा मात्र गर्ने तर कहिल्यै नबनाउने भन्दै गुनासो गरे। उनले कुरा धेरै पटक भएको तर काम नभएको बताए। 'जसरी बन्छ बनाउनुपर्योा। यहाँ एयरपोर्ट बन्नु भनेको विकास हुनु हो,' उनले भने, 'विकास हुँदा केही विनास पनि हुन्छ, रुखहरु काट्नुपर्छ, केही ठाउँ भत्काउनुपर्छ, त्यो त हामीले पनि सहनुपर्छ।'
यसैगरी, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जूले धुलीखेलको विकासका लागि र त्रिभुवन विमानस्थलको चाप कम गर्न काभ्रेमा विमानस्थल बनाउन उपयुक्त हुने बताए। उनले विमानस्थल बन्दा धुलीखेलको पर्यटनलाई समेत सघाउ पुग्ने जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।