काठमाडौं- ३० वर्षे सेवा अवधिपछि अवकाश लिने क्रममा रोइकराइ नगर्न अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीलाई निर्देशन दिएका छन्।
राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक गाभिई एकीकृत कारोबारको शुभारम्भको अवसरमा बोल्दै अर्थमन्त्री डा खतिवडाले स्वस्फूर्त रुपमा कर्मचारी जीवनबाट अवकाश लिन आग्रह गरेका हुन्। उनले कर्मचारीलाई लक्षित गर्दै भने, ‘३० वर्ष कर्मचारी जीवनबाट अवकाश लिई बाँकी समय उद्यमशीलताको क्षेत्रमा लगाउनुहोस्, अवकाश लिँदा रोइकराइ नगर्नुहोस्।’
उनले सरकारले छिट्टै स्वरोजगार र उद्यमशीलताको कार्यक्रम ल्याउन समेत जानकारी दिए।
८ वर्षे लामो प्रयासपछि राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक 'मर्ज' भई एकीकृत कारोबार बुधबारबाट सुरु भएको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दुई परिपक्व बैंक एकापसका गभिएपछि कारोबार र नाफाको हिसाबले मुलुककै ठूलो बैंक बन्ने बताए। राष्ट्र बैंकले ल्याएको मर्जर नीतिलाई यी दुई बैंकले पूर्णरुपमा सहयोग गरेको जानकारी दिए। उनले हाल मुलुकभर १५२ वटा बैंक तथा वित्तीय संस्थाको करिब ५ हजार ७ सय भन्दा बढी शाखा रहेको बताए।
सरकारको २०७३ माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार दुवै बैंकका प्रतिनिधि सम्मिलित मर्जर सहजीकरण समिति २०७३ फागुन ६ गते गठन भएको थियो।
हाल राष्ट्रिय वाणिज्य बैंकले देशभरका ६९ जिल्लामा १ सय ८६ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ। बैंकको चैत मसान्तसम्म ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। यता एनआइडिसी डेभलपमेन्ट बैंकको ४१ करोड ५८ लाख रुपैयाँ पुँजी रहेको छ।
दुई बैंक गाभिएपछि चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ पुग्नेछ। बैंकको कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ भने कर्जा प्रवाह १ खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ। बैंकको १ सय ९१ वटा शाखा कार्यालय रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।