पोखरा– बढ्दै गएको सहरीकरणलाई व्यवस्थित बनाउन पोखरा लेखनाथ महानगरपालिकाले संयुक्त आवास भवन (अपार्टमेन्ट) निर्माणका लागि मापदण्ड लागू गरेको छ। सहरी क्षेत्रमा दिनानुदिन बढिरहको जनघनत्वलाई लक्षित गरी पोखरा महानगरले मापदण्ड अनुरुप अपार्टमेन्ट निर्माणको स्वीकृति दिने भएको हो।
अपार्टमेन्ट निर्माण गर्न महानगरपालिकाले १७ वटा नीति, ऐन, निर्देशिका र कार्यविधि तयार पारेको महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए। उनले भने, ‘भर्खरै भएको दोस्रो नगरसभाबाट महानगर भवन निर्माण तथा भवन नक्सा पास निर्देशिका, २०७४ तयार पारेका हौं।’ अपार्टमेन्ट निर्माण गर्न पोखरामा पहिलोपटक मापदण्ड तयार पारेको उनको भनाइ थियो।
मापदण्ड अनुसार एउटै भवनमा १ सय परिवार बस्न मिल्ने १ सय फिटसम्मको भवन बनाउन सकिने व्यवस्था छ। ११ तलासम्म बनाउँदा १५ मिटरको प्रवेश मार्ग बनाउनुपर्ने मापदण्ड तय गरिएको छ।
आवास भवन निर्माण गर्दा अगाडिपट्टि ८ र अरु भागमा ४÷४ मिटर सेटब्याक छोड्नुपर्ने निर्देशिकामा प्रावधान छ। ५ रोपनी जग्गामा अपार्टमेन्ट बनाउने हुँदा १ दशमलव ५ रोपनी जग्गा अनिवार्य छोड्नुपर्ने मापण्दड बनाइएको छ।
२०५८ सालदेखि नै सहरी विकास तथा भवन डिभिजन कार्यालयले संयुक्त आवास भवन नीति अवलम्बन गरे पनि महानगरले पहिलोपल्ट सुरुवात गरेको हो। यद्यपि पोखराको माटो अन्य स्थानभन्दा मलिलो र कमजोर भएका कारण आवास निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने महानगरका योजना तथा प्राविधिक समितिका सदस्य इन्जिनियर किसानसिंह गुरुङले सुझाए। परीक्षण पासपछि पनि भूकम्प प्रतिरोधात्मक भवन बनाउनुपर्ने उनको भनाइ छ।
पोखरामा यसअघि ३५ फिटभन्दा अग्ला घर निर्माणमा रोक लगाइएको थियो। अपार्टमेन्ट निर्माण गर्दा छिमेकी र प्राकृतिक दृश्यलाई छेक्न पाइनेछैन। गुरुङले भने, ‘मापदण्डमा तोकिएको जमिन छोडेर साना घर हुनेलाई सजिलो पार्नुपर्छ।’
महानगरले घर निर्माण गर्दा २ वटा बिरुवा रोप्नुपर्ने यसअघिको व्यवस्थालाई निरन्तरता दिएको बताएको छ। २ आना जग्गा हुनेले महानगरमा स्थायी वासस्थानको स्वीकृति पाउने छैनन्। त्यस्तै, महानगर क्षेत्रभित्र सार्वजनिक शौचालय बाहेक अन्य संस्थाले कुनै पनि भवन निर्माण गर्न नपाउने निर्देशक पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।