काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषि मात्र नभई सिंगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्। अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८औं एसियाली क्षेत्रीय सम्मेलनमा मन्त्री पुनले सिँचाइबाट विकासको आधार तयार गर्न सकिने बताएका हुन्।
मन्त्री पुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको जानकारी दिए। उनले उक्त लक्ष्य पूरा गर्न पानीको निकास तथा व्यवस्थापन जरुरी रहेको बताए।
‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ राजधानीमा बुधबार सुरु भएको ३ दिने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। आइसिआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमिनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञान आदान–प्रदान गर्न गठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो।
सम्मेलनमा ३० देशका सयभन्दा बढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ। सम्मेलनमा नेपालका करिब ५ सय प्राविधिक एवं वैज्ञानिक सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।