चरिकोट– जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन्।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउन पहल गर्ने बताएपछि स्थानीयबासी उत्साहित बनेका हुन्।
दोलखाको खरिढुंगामा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आएका मन्त्री अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनको सम्बन्धमा स्थलगत निरीक्षण गरेका थिए।
जिरी विमानस्थलको धावनमार्ग नजिकै भएको छोटो अन्तरक्रिया कार्यक्रमकाबीच मन्त्री अधिकारीले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको बताएका थिए। जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै जिरी नआउँदा नेपालको घुमफिर अधुरो रहने उनले टिप्पणी गरे।
मन्त्री अधिकारीले विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट नापीको बेला कृषि मन्त्रालयअन्तर्गत जानु ठूलो भूल भएको बताउँदै अब फेरि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।
उनले विशेषगरी काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाललगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपर्युक्त रहेको बताए। उनले रामेछापको मन्थलीमा हाल सञ्चालनमा रहेको एयरपोर्ट आवतजावतका लागि ठीक भएता पनि पर्यटकीय दृष्टिकोणले जिरीमासमेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको बताए।
कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेलले जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी दिएका थिए। उनले २०५२ साल अगाडिसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट तत्कालीन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिनसमेत कृषि ब्लकअन्तर्गत नापी गरिएकाले हाल एयरपोर्ट सञ्चालनमा समस्या परिरहेको प्रष्ट पारे।
२०४४ सालमा जिरी-लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा नै ४ सय मिटर रनवेलाई उत्तरतर्फ बढार्इ ६ सय मिटर कायम तथा ३० सेमी ग्राभेलिङसमेत गरी पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको थियो। तर उक्त फाइल मन्त्रालयबाट हराएको र पुनः २०७२ सालमा आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा फेरि विस्तृत आयोजना प्रतिवेदन डिपिआरसहित तारा एयरलाइन्सको सफल परीक्षण उडानसमेत भइसकेकाले एयरपोर्ट सञ्चालनका लागि जग्गाको स्वामित्वबाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको उनले जानकारी दिए।
कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसाबले जिरी उत्कृष्ट रहेको बताउँदै जिरी एयरपोर्ट तत्काल सञ्चालन गर्न आफूले सक्दो प्रयास गर्ने बताए।
सो अन्तरक्रियामा जिरीस्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, 8सेवी, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।