काठमाडौँ- ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः सुरु हुने भएको छ।
नेपाल र चीन सीमा नजिक तातोपानीको लार्चामा निर्माण हुने सुक्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सुरु गर्ने सम्झौता भएको छ। नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एन्ड कमर्शियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण सुरु गर्ने सम्झौता भएको हो।
चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (सिआरसिसी) ले आजैदेखि निर्माण सुरु गर्ने र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। भूकम्पले क्षति पुर्याएका कारण सो सुक्खा बन्दरगाहको निर्माण रोकिँदै आएको थियो।
भूकम्पलगत्तै बन्द तातोपानी नाका सञ्चालनमा ल्याउन समेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो। तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो।
यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।
आयोजनास्थलमा चिनियाँ निर्माण व्यवसायीले पहुँचमार्ग, आवासगृह तथा अन्य निर्माणपूर्वको काम गरिरहेको थियो। द्विपक्षीय सम्झौता भएपछि बन्दरगाह निर्माणको काम नै सुरु भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए। बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पुनः निर्माण गर्नुपर्ने भएको छ।
हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले सुक्खा बन्दरगाह निर्माणका लागि आजैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताए। नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको छ।
चीन सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउने विश्वास दिलाएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन पहिले गर्नुभएको चीन भ्रमणका क्रममा समेत सो नाका सञ्चालनको विषयमा छलफल भएको थियो। सुख्खा बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट पुनः व्यापार विस्तारमा थप सहज हुने विश्वास लिइएको छ।
सो परियोजनाको कूल लागत करीब रु दुई अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ।
नेपाल-चीन सीमा जोड्ने मितेरी पुलबाट करिब ७ किमी तल सुख्खा बन्दरगाह निर्माण थालिएको हो। करिब ९० रोपनी क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।