काठमाडौं- एकीकरणको बेलादेखि रेमिट्यान्सले धानेको अहिलेको क्षणसम्म आइपुग्दा नेपाली अर्थतन्त्रका आरोह-अवरोहको विश्लेषण गर्दै सुजीव शाक्यले ‘अर्थात् अर्थतन्त्र’ पुस्तक तयार पारेका छन्।
नेपालमा पृथ्वीनारायण शाहको उदय भएको ताका विश्वले आदमस्मिथ जस्ता अर्थशास्त्री पनि जन्माएको थियो। राष्ट्रको धनप्रति रुची राख्ने यी दुईले के-कस्ता बाटो समाते, त्यसबाट विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले के कस्तो मार्ग समात्यो भन्ने तथ्यहरुको उल्लेख र विश्लेषणबाटै शाक्यको यो पुस्तक सुरु हुन्छ। त्यसपछि उनले विस्तारमा नेपाली अर्थतन्त्रका फराकिला फाँटहरुको विवेचना गरेका छन्।
अर्थ मामिलाका लेखक तथा टिप्पणीकार शाक्य वैचारिक अभ्यास गर्ने निजी क्षेत्रको एउटा प्रमुख संस्था ‘नेपाल आर्थिक मञ्च’ का अध्यक्ष समेत हुन्। पेसाले व्यवस्थापक तथा परामर्शदाता शाक्यले यसअघि अंग्रेजीमा ‘अनलिशिंग नेपाल’ लेखेका थिए। उनको त्यस पुस्तकलाई अन्तर्राष्ट्रिय प्रकाशनगृह पेन्गुइनले छापेको थियो। नेपाली पाठकहरुका निम्ति उनले तयार पारेको यो पुस्तक भने पब्लिकेशन्स नेपालयले ल्याउन लागेको हो।
अंग्रेजीभाषी पाठकमाझ नियमित स्तम्भ, लेखहरु र पुस्तक लेख्दै आएका शाक्यले पहिलो पटक नेपालीभाषी पाठकमाझ यो पुस्तकमार्फत गाँसिन लागेकोमा खुसी प्रकट गरेका छन्। यो पुस्तक उनले पत्रकार मैना धितालसँगको सहकार्यमा तयार पारेका हुन्।
हाम्रा वरपरकै समसामयिक विषयलाई उभ्याएर आफ्ना कुरा राख्ने शैलीका कारण पुस्तक रोचक छ। जस्तो कि एक ठाउँमा शाक्य भन्छन्, ‘मापसे जस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ– कृजपसे। अर्थात्, कृषि, जलविद्युत्, पर्यटन र सेवा।’ यति भनिसकेपछि उनी अलिक अघिसम्म हामी जस्तै अवस्थाबाट तीव्र उन्नति पथमा लागेको मलेसियाको उदाहरण सुरु गर्छन्।
उपभोक्तालाई ब्राण्डको महत्व समेत थाहा नेपाली अर्थतन्त्रको आलोकाँचो अवस्थाको दृष्टान्त दिँदै शाक्य एक ठाउँमा लेख्छन्, ‘मुलुकमा तीन सयभन्दा बढी ब्राण्डका पानी बिक्री हुन्छन्। तर, कसको स्तर के हो भन्ने कसैलाई मतलब छैन।’
मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धान्दै गरेको अवस्थामा हामी नेपालीहरु विदेशमा गएर श्रम गर्ने इतिहास पुरानो रहेको शाक्य सम्झाउँछन्। उनको तर्कमा तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए।
शाक्यले एकातिर नेपालमा एक प्रतिशतभन्दा कम जनसंख्या पुँजीबजारमा सहभागी रहेको पक्षलाई उठाएका छन् भने अर्कोतिर विदेशी सहयोगमा हामी अचाक्ली भर पर्दैगर्दा त्यसले देखाएका गम्भीर आर्थिक असरहरुको पनि विश्लेषण गरेका छन्।
आख्यान, गैरआख्यान र दैनिक उपयोगिताका विविध विधामा उभिएका पुस्तकहरु पाठकसामु प्रस्तुत गर्दै आएको पब्लिकेशन्स नेपालयले आर्थिक मामलामा पहिलो पटक यो पुस्तक प्रकाशन गर्न लागेको हो।
पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली अर्थतन्त्रलाई सबैले बुझ्ने भाषामा परिभाषित गरेको यो पुस्तक पाठकका निम्ति रोचक र ज्ञानबर्द्धक हुने विश्वास लिएको बताएकी छन्। यही बैशाख २९ गते सार्वजनिक गरिने पुस्तकको मूल्य ४ सय ७५ रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।