नेपालगन्ज- ठूलो परिमाणमा भारततर्फ गइरहेको डिजेल रोक्नेतर्फ चासो नदेखाएको नेपाल आयल निगमले मूल्य समायोजनको नाममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा नेपाली उपभोक्ताहरु थप मारमा परेका छन्।
निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३–३ रुपैयाँ बढाएको हो। मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ।
नेपालमा डिजेल लगायतका पेट्रोलियम पदार्थ भारतबाट आयात हुन्छ। भारतीय आयल निगमसँग नेपाल आयल निगमले डिजेल लगायतका पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। नेपाल आयल निगमले भारतबाट खरिद गरेर ल्याउने डिजेल भारतमा भन्दा नेपालमा सरदर १६ रुपैयाँ सस्तो छ।
नेपालमा सस्तो भएका कारण भारतबाट मालसामानहरु ल्याएर नेपालगन्ज आउने सानाठूला भारतीय सवारीसाधनहरुले नेपालका पेट्रोल पम्पमा पूरा ट्यांकी तेल भरेर फर्कने गरेका छन्।
खुल्ला सीमाना र भारतीय सवारीको दैनिक ठूलो संख्यामा सीमावर्ती क्षेत्रमा ओहोरदोहोर गर्ने भएकाले सरकारले नेपाली जनताका लागि सुपथ मूल्यमा उपलब्ध गराएको डिजेलको फाइदा भारतीय सवारीसाधनमार्फत व्यापारीहरुले उठाउँदै आएका छन्। यो क्रम बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ नेपाल आयल निगम तथा पेट्रोलियम डिजेल एसोसिएसनले खासै पहल गरेका छैनन्।
नेपालमा एक दिनमा कति भारतीय नम्बर प्लेटका सवारीसाधन भित्रन्छन् भन्ने यकिन तथ्यांक छैन। बाँकेको नेपालगन्जस्थित सीमावर्ती क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार भारतको रुपैडिया नाका हुँदै नेपालगन्जमा दैनिक सरदर २ सय ३० वटा मालबाहक ट्रक तथा २ सय २० वटा साना सवारी नेपालगन्ज भित्रन्छन्।
नेपालगन्ज नाका हुँदै भित्रने सवारीसाधनलाई आधार मानेर हेर्दा पनि नेपाल र भारतबीच रहेका ४३ वटा सानाठूला नाकाबाट दैनिक कम्तीमा ५ हजार सवारी ओहोरदोहोर गर्ने गर्छन्। प्राय: सबै सवारीसाधनहरुले भारत फर्कंदा फुल ट्यांकी डिजेल भरेर फर्कने गरेका छन्। प्रतिलिटर १० रुपैयाँ (भारु) सस्तोमा सहजै तेल भर्न पाएपछि उनीहरु सकेसम्म पूरा ट्यांकी भरेर फर्कने गरेका हुन्।
ती भारतीय सवारीले कति मात्रामा तेल लिएर फर्कन्छन र त्यसले नेपाललाई कति नोक्सान भइरहेको छ भन्नेबारे निगमले कुनै अध्ययन गरेको छैन। दैनिक ठूलो परिमाणमा डिजेल भारततर्फ गइरहेको थाहा पाए पनि नियन्त्रणका लागि निगम, जिल्ला प्रशासन कार्यालय, पेट्रोलयिम डिलर एसोसिएसनलाई सरोकारवालाहरुले लिखित आग्रह गरे पनि नियन्त्रण प्रभावकारी हुन सकेको छैन।
भारतबाट दैनिक खाद्यान्न, सिमेन्टको कच्चा पदार्थ, मेसिनरी उपकरण, मोटर पार्टसका सामान, घरेलु प्रयोजनका सामान बोकेर दैनिक करिब ५ हजार सवारी साधन नेपाल भित्रन्छन्। प्राय: साना जिप जस्ता सवारीमा ५० लिटर, ट्रकमा ५ सय लिटर र लरीहरुमा ५/५ सय लिटर क्षमताका २ वटा ट्यांकी हुन्छन्।
विदेशबाट डलर तिरेर नेपालका लागि ल्याएको पेट्रोलिय पदार्थ भारत फर्कंदा आयल निगमलाई करोडौं नोक्सानी भए पनि प्रभावकारी रुपमा रोक्न नसकिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।
नेपालका पेट्रोल पम्पमा डिजेल भर्ने सवारी साधनको संख्या बढेसँगै सीमावर्ती क्षेत्रका पेट्रोल पम्ममा डिजेलको माग निक्कै बढेको छ। जसको प्रभाव नेपाल आयल निगमको समग्र मागमा पनि परेको छ। निगमका अनुसार नेपालमा वार्षिक करिब २० प्रतिशतका दरले इन्धन खपत बढिरहेको छ।
चालु आर्थिक वर्ष ०७४/७५ को १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको छ। यो अघिल्लो पूरै आर्थिक वर्षमा आयात भएको भन्दा पनि ८ अर्बले बढी हो।
नेपालगन्जको एउटा पेट्रोल पम्पमा तेल भर्दै गरेका भारतीय चालक सोनु सिंह भन्छन्, 'भारतमा भन्दा १० रुपैयाँ आइसी सस्तो भएकाले यतै तेल भरेर फर्कने गरेको छु।'
आयल निगमले नेपाली पेट्रोल पम्पलाई लिखित सर्कुलर गरेर ट्रक, लरी जस्ता ठुला साधनलाई एक सय लिटरमात्रै डिजेल दिन आग्रह गरे पनि पम्पहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई मागे अनुसार डिजेल दिँदै आएका छन्।

'निगमले एउटा पत्र पठाएर औपचारिकता मात्रै पूरा गरेको छ। नियमन र नियन्त्रण गर्नेतर्फ कुनै चासो देखाएको छैन,' मध्यपश्चिम पेट्रोलियम डिजेल एसोसिएसनमा अध्यक्ष टिपी न्यौपाने भन्छन्, 'यहाँ तेल भर्ने भारतीय सवारी र पम्मलाई कडाइका साथ निर्दशन पालना गर्न लगाउनुपर्छ।'
निगमले अन्य सरकारी निकायसँग समन्वय गरेर प्रस्ट कार्ययोजनाका साथ नलागे भारततर्फ गइरहेको डिजेल रोक्न नसकिने र नेपालले करोडौं नोक्सानी खेप्नुपर्ने न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।