काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३ जना चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। वाई–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो।
मासिक प्रतिपाइलट ८ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी ती पाइलट ल्याउन लागिएको निगमले जनाएको छ।
पाइलट ल्याउने प्रक्रियामा रहेको र अन्य मुलुकबाट पनि पाइलट ल्याउन पहल भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। उनका अनुसार चीनका अलावा अफ्रिका र दक्षिण अमेरिकाबाट पनि वाई १२ उडाउने पाइलट ल्याउने प्रक्रिया अघि बढेको छ। 'एकदुई जना पाइलट त्यहाँबाट पनि ल्याउने प्रक्रियामा छौँ, अहिले उनीहरुको लाइसेन्स र बायोडाटा मगाएका छौँ,' महाप्रबन्धक कंसाकारले भने।
चिनियाँ पाइलटको भने लाइसेन्स ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि कागजपत्र बुझाइएको छ।
कंसकारका अनुसार छोटो अवधिका लागि करारमा चिनियाँ पाइलट ल्याउन लागिएको हो। नेपाली पाइलट तयार भए पनि उनीहरुलाई फर्काइनेछ। लामो समयसम्म उनीहरुलाई राख्दा खर्चभार महँगो हुने भएकाले नेपाली पाइलट तयार नभएसम्म मात्र चिनियाँ पाइलट राखिनेछ।
चिनियाँ पाइलट सबै प्रक्रिया पूरा गरेपछि अबको एक महिनाभित्र आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए। 'चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा छ, अबको एक महिनाभित्र ती पाइलट नेपाल आउनेछन्,' उनले भने। अहिले निगमका नेपाली पाइलटले ६ देखि ८ लाख तलब पाउने गरेका छन्।
निगममा लामो समयदेखि पाइलट अभाव छ। अभाव पूर्ति गर्न हालै ४३ जना पाइलटको माग गरेकामा जम्मा ११ जनाको मात्र निवेदन परेको निगमले जनाएको छ।
आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न विमान उडानका लागि पाइलट करारमा राख्न आवेदन मागेको थियो।
हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएका सबै विमान तीन महिनाभित्र उडाउन निर्देशन दिएका थिए। चिनियाँ विमान निगमलाई हस्तान्तरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा उनले यस्तो निर्देशन दिएका थिए।
निगमका पदाधिकारीले सकेसम्म उक्त अवधिमा विमान उडाउन प्रयास गरिने बताएका थिए। तर अहिलेसम्म पनि पाइलटको टुंगो लागेको छैन। निगममा रहेका ४ वटा वाई १२ विमान उडाउन सक्ने २ जना मात्रै पाइलट छन्। बाँकी २ वाई १२ विमान चल्न सकेका छैनन्।
२०६९ मा नेपाल र चीनबीच (२ वटा एमए ६० र ४ वटा वाई १२) ६ वटा जहाज ल्याउने सहमति भएको थियो। अहिले ६ वटै विमान नेपाल आइसकेका छन्। ती विमानमध्ये २ विमान वाई १२ र एमए ६०, ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र ३ वाई १२ गरी ४ विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ।
निगमका पुराना ३ सहित ९ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र २ एयरबस ए–३२० बाट उडान भर्दै आएको छ। हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।