यात्रा जुराउने भन्दा पनि प्रायःजसो जुरेर आउनु पर्ने रहेछ क्यार! नत्र यस्ता कैयौं यात्राहरु जुराउन खोजेर पनि विलय भएका छन्। फेरि जुर्छन्, कसरी भन्ने प्रश्नको उत्तर पनि मसँग छैन। यसपल्ट दसैँअघि नै केही ठाउँका धान भित्र्याइयो। बाँकी ठाउँमा तिहारअघि पाक्ने छाँटकाँट नभएकाले पहिलाको अधुरो यात्रालाई पूरा गर्ने हो कि भन्ने प्रश्नले नै उपयुक्त समयमा पाँचपोखरी जाने सपनाको रेखाङ्कन भयो।
पाल्चोकबाट बिहान सबेरै मेलम्ची प्रस्थान गर्याैं। आभा बहिनीलाई मेलम्चीमा भेट्यौँ। भोताङ जाने गाडीलाई केहीबेर हाम्रा लागि पर्खन बहिनीमार्फत् खबर गरेका थियौँ। बजारमा किनमेल गर्ने कुरो यत्तिकै थाँती बस्यो। हामी झन्डै १ घन्टापछि मेलम्ची बजार पुग्यौं।
बस होलो थियो। बिस्तारै आ–आफ्ना गन्तव्यमा यात्रुहरू झर्दै गए। भोताङ पुग्ने मेलम्ची खण्डको बाटो देखेर अचम्मित परियो। पछाडी उफारेर टाउको ठोक्किएपछि अगाडि सिटमा गइयो।
बाटो, विकास, राजनीति आदि इत्यादिको गफ कति गर्ने? कम्तीमा यात्राजस्तो पवित्र कर्म थाल्दा त नरमाइलो लाग्ने विषयहरू नसोच्ने हो कि भन्ने कुरो। एकातिर मनमा यी खेल्दै पनि थियो।

बसको अघिल्तिर दुइ दाइको कुरो सुन्दै पनि थिएँ। आलुको कुरो चल्दै थियो, मित लगाउनेसम्म कुरो पुग्यो। आलु लिन लार्के पुग्नु पर्ने रहेछ। आलुसँगै चामलका कुरो निस्किए। मजाकमै कुरो चले पनि त्यो यथार्थ थियो।
ती हिमाली गाउँहरुसम्म भारतीय चामल बिक्री भएको देख्दा कस्लाई मज्जा लाग्ला ररु कृषिप्रधान् देश भनेर गाली नै चाहिँ नगरम् तर स्थानीय स्तरमै उत्पादन हुने चामल राम्रो हुन्छ भनेर बुझाउन सकिएको छैन भनेर ओर्लिएपछी ती दाइ संवादको मेसोमा मलाई सुनाउँदै थिएँ म पनि चकित मात्रै पर्न सकेँ। छिम्तीका दाइले लार्के जाने बाटो बताएपछि धापका ती दाइ तर्सिए १ यसरी आलु लिन त्यहाँ जानुभन्दा रित्तो फर्कन ठीक भन्दै थिए।
दीपकिरण खड्काबसयात्राका झ्यालबाट पारी गुन्सा गाउँ हेर्दै, बरुवातिर आँखा डोर्या उँदै इन्द्रावतीको पहाडी तिरैतिर र मानेखर्कको सुन्दर बस्तीबाट हामी भोताङ्ग हुँदै छिम्ती पुग्छौँ। घडीले भर्खर १ बजेको समय देखाउँदै छ। झन्डै २ बजे खाजा खाएर देउराली उक्लिन्छौँ। समय बाँकी भएकाले आज देउरालीभन्दा माथितिरका होटेलमा बस्ने कुरो हुन्छ हामीबीच। खोलाबाट मास्तिरको ठाडो बाटो उक्लेर झन्डै ४५ मिनेट हिँडेपछि हामी देउराली पुग्छौँ। पसिनाले खल्खल्ती भिजेका छौँ, देउराली पुगेर पानीको प्यास मेटाइयो।
चैततिर आउँदा बसेकै होटेलको दिदीसँग कुराकानी भयो। ‘आज कता बस्दा ठीक होला दिदी’ भनेर सोध्यौं। समय पनि भएकाले टुपि डाँडाबाट पनि पर पुग्न सकिन्छ, बरु ताङ्गु खर्कमा नै बस्दा गज्जब हुन्छ भन्नुहुन्छ। हामी त्यहाँबाट बिदावारी भयौं। पुराना यात्राका कुराकानी गर्दै अघि बढ्छौँ १ वरपर टेक्नलाई लट्ठी पनि खोज्छौँ। सिधा खालका लट्ठी भाँच्छु। सबैलाई पुगेपछि हामी लठ्ठीकै सहारामा उकालो उक्लिरहन्छौँ। कहिले खर्क, कहिले जङ्गल, कहिले तेर्सो र कहिले उकालो बाटो हुँदै यात्रा अघि बढिरहन्छ।
उकालो उक्लिँदै गर्दा केही यात्रीहरुलाई बाटोमा भेट्यौं। सामान्य बोलीचाली, यात्राबारे चासो राखेर शुभ यात्रा भन्दै आउने र फर्कने यात्रीहरू बीचको सामान्य संवाद चलिरहन्छ। देउरालीबाट अलिकति माथि पुगेपछि ७ महिनाअघि बसेको अस्थायी आर्मी क्याम्प अहिले देख्दिन। त्यो जाडोमा शीत टेण्टबाट छिरेर चिसोमा बस्न सकिन्नँ भनेर फर्किएका आर्मीहरु त्यही बेला फर्किएछन् क्यार भनेर अड्कल काट्छु। हुन पनि बेसीमै त बिहान बेलुकीको चिसो कम्तिको हुन्न। झन्डै २५०० मिटरको उचाइमा के हाल होला? यस्ता विविध कुरोले पनि मलाई हिमाल यात्रामा खासै टेन्ट बोकेर हिँडिहाल्न रहर लाग्दैन। फेरि सबै भावनाले डोर्यालएका रहरले यात्रा मिठा बनाउँछन् भन्ने कहाँ छ र? ३ घन्टाको हिँडाइ पछि हामी टुपी डाँडा पुग्छौँ। ताङ्गु खर्क मै बस्ने निधो हुन्छ हाम्रो। टुपी डाँडासम्म आएर हिउँदमा हिउँ खेलेको ताजै छ।
एकैछिन बसेर चिया खाने कुरो हुन्छ हाम्रो। त्यहाँका दाजै हामीलाइ त्यहीँ बस्न अनेकन कुरा गर्छन्। हामी रात ढल्किनसकेकाले ताङ्गु नै पुगेर बास बस्ने अड्डी कस्छौँ ! हाम्रो ढिपीको अगाडि तिनको पनि केही लाग्दैन। यात्रामा अघिपछि हुनु स्वाभाविक नै हो। म र अञ्जन भाइ अलिक छिटै हिँडेछौँ। उकालोमा हिँड्दै गर्दा याकहरूसँग भेट हुन्छ। घाँटीमा झुन्ड्याइएको घन्टीको आवाज एकोहोरो भए पनि ट्वाङ् ट्वाङ् बजेको सुन्दा पनि गज्जब लागेको थियो। रातमा ती याकहरु रूखका छहारीमा बसुन् भनेर छाडिएको हुँदोरैछ। हाम्रो र याकको भेट हुँदा एकछिन त सबै स्थिर भएका थियौँ। याक हामीसँग तर्सिने, हामी याकसँग तर्सिने! अनि हामी अलिकति माथि पाखातिर उक्लेर बाटो छाडिदिँँदा उनीहरु डराइडराइ आफ्नो बाटो लाग्छन्। गोधुली साँझको यात्रा परपरको दृश्य हेरिरहुँ लाग्छ। मान्छेको महत्व दुस्ख पर्दा हुन्छ भन्ने चल्तिको भनाइ जस्तै क्षितिजको महत्व सायद गोधुलीमा हुन्छ कि।
अनि केही क्षणको हिँडाइपछि हामी पाटनजस्ता ठाउँमा पुग्छौँ, ताङ्गु खर्कमा ! ताङ्गु भन्ने नौलो नाम भएर होला सजिलै सम्झन गाह्रो भयो। ताङ्गु खर्कमा एउटा मात्रै घर रहेछ। माथि लेकबाट भारीका भारी चोया बोकेर आएका दाइहरु पनि भेटियो। मान्द्रा बुन्न लेकाली चोयो गज्जबको हुन्छ नै १ मलाईचाहिँ किन किन हिमाली विषमता र कठिनतासँग जुधेर आफूलाई त्यो परिवेशमा उभ्याउने हर जीवन विशेष लाग्छ। ती चोया बोकेर आउने दाइहरूले पनि साँझ परिसकेकाले हामीलाई ताङ्गु खर्कमै बास बस्न सल्लाह दिँदै थिए।
पछि ती ताङ्गु खर्कका दाइ पनि आइपुगे। बाहिर चिसो चिसो हिमाली हावाको सिरेटोले हान्दै थियो। उता गोधुली साँझको रङ्ग बेग्लै थियो, हामी सबैलाई एकटक हेरिरहुँका भावले तानिरहेथ्यो। हामी त्यो चिसो हावाको कुनै पर्वाह नगरी केही क्षण गोधुलीमै हरायौँ। ताङ्गुका एक्ला मान्छे, दाजुले हामीलाई चिया खान र आगो ताप्न भित्रै बोलाए। हामी गयौं र आगोको तातोसँगै चियाको चुस्की लियौं। बिस्तारै दाइ खाना पकाउन सुरसार कस्छन्। दिदीभाइहरु झ्वाँई खट्टे चाख्ने कि, थकान पनि मर्छ भनी सोध्छन्।
अधिकांश ठाउँमा बैनीलाई दिदी भनेर बोलाइँदो रहेछ। पहिलोपटक सुन्दा छुट्टै लागे पनि पछि सामान्य बोली नै लाग्यो। उनीहरुले खाए, मैले थोरै चाखेँ। नोस्याम पाटीका लजहरुमा सामान पुर्यााएर फर्किएका तामाङ दाइहरु पनि त्यतै आइपुगेका थिए। हामीलाई ३र४ घन्टा लाग्ने बाटोमा उहाँहरु साढे १ घन्टामा पुग्नुहुँदो रहेछ। बिस्तारै रात छिप्पिसकेपछि हामी आगो छेउ बस्यौं। र कुराका प्रसङ्गहरु निस्किए। दाइको नाम निमावाङ्दी रैछ, मिजासिला। ताङ्गु खर्कमा एक्लै बसेका रहेछन्। जङ्गलबीचको पाटन, त्यहाँ उभिएको सानो घर र त्यो घरका एक्ला मान्छे देख्दा हामीजस्ता भीडमा हराएकाहरु आश्चर्यचकित पर्नु स्वाभाविकै हो।
‘डर लाग्दैन?’ सोध्छु उनलाई ।
‘मन पवित्र भएर कसैको कुभलो सोचेन भने केको डर होइन र?’ भन्छन्।
आखिर त्यो सरल वाक्यमा कति गहिरो दम छ। आहा। झन्डै २८०० मिटर उचाइमा रहेको खर्क मलाई यात्राभरिकै सुन्दर ठाउँ लाग्यो १ हिमाली यात्राहरु सजिला हुँदैनन् १ उत्साह र उमङ्गहरु क्षणमै माटोमा मिल्न सक्छन्। यात्रामा बाटो बिराएका, लेक लागेका, रातमा बास नपाएकाहरु विभिन्नलाई निस्वार्थ उद्दार गरेका रहेछन् यी दाजुले १ गफैगफमा उनको व्यक्तिगत जीवनभित्र पुगिसकिएछ। भुइँचालोमा बुढी र छोरी गुमाएपछि भक्कानिएर विदेश हिडेका रहेछन्। मिलन, सविन, अंकित, अन्जन र आभा सबैको अनुहार निन्याउरो भएको प्रष्ट देख्थेँ। मलाई पनि किन कोट्याएछु झैँ भएको थियो। अन्धकार रात, आगोको ताप र उज्यालोमै उता खाना पाक्दैछ, यता कुराकानी पनि हुँदैछ। विदेशी भूमिबाट पनि ४ चेलीहरुको उद्दार गरेका रहेछन्। आफ्नै माटोमा बरु केही गर्छु भनेर फर्किए। त्यसपछिका दिनमा ताङ्गु खर्कमा एक्ला नेपथ्यका हिमाल भएर उभिएका रहेछन्। २र३ दिनसम्म हराएका एक युवकलाई उद्दार गरेर ठूलो गुन लगाएका रहेछन्।

पछि ती युवक फेरि फर्किएर आएर उनलाई अर्थ सहयोग गरेछन्। लिन नमान्दा नमान्दै पैसा छाडेर गएपछि बडो अप्ठेरोमा परेको प्रसङ्ग सुनाउँथे। उनका यस्ता धेरै कुराहरु सुनेर अझै पनि कति राम्रा मन भएकाहरु मानिस रहेछन् हगि भनेर मनमनै भाव आउँछ। उनको खर्कबाट नोस्यामपाटीसम्म पुग्नेदेखि पाँचपोखरी पुग्ने बाटो देखिने रैछ। ती नाङ्गो डाँडामा इमर्जेन्सी लाइट बलेको देखे भने कोही आपतमा परेछ कि भनेर उद्दार गर्न दौडिँदा रहेछन्। पदयात्रामा पैसा सकिएपछि गोजी रित्तो हुनेहरुलाई पनि आफ्नै खर्चले काठमाडौंसम्म जाने भाडाहरु दिएर त धेरैलाई पठाएछन्। फिर्ता गर्नुपर्दैन राम्रोसँग आफ्नो गन्तव्यमा पुगे मलाई खुसी मिल्छ भनेर भन्दा रैछन्। तर तीमध्येका धेरैले दोस्रो यात्रामा उनीलाई भेट्न आउँदा रहेछन्। अनि उनी आफूले कमाएको सम्पत्ति नै यही हो, पैसा त आज छ, भोलि सकिन्छ भन्छन्। पवित्र कर्म, जो मनदेखि निस्वार्थ गरिन्छ त्यो भन्दा सुन्दर चीज के छ? गफै गफमा हिममानुषका कुरा पनि चल्छ्न्।
यतीका कुरा
२०१९ अप्रिलमा भारतीय सैनिकहरूले मकालु वरूणमा यतीको पाइला भेटेको तथ्य बाहिर ल्याए नेपालीका लागि खासै नयाँ कुरो हो भन्ने लाग्दैन। योगी नरहरिनाथले त यतीले बोल्ने भाषा नै दिएका छन्। हुन पनि हिमालहरू रहस्य नै रहस्यको पोका हुन्। हिमाल खोतल्ने हो भने धेरै तथ्य बाहिर आउँछन् भनेर योगीले भनेका छन्। हिमालका कुना कन्दरामा बस्ने हिममानुष घामको प्रकाशमा देखिँदा हाँ हाँ हुँ हुँ गर्दै भाग्छ रे भनेर यो यती भन्ने पुस्तकमा योगीले लेखेका छन्। २ वर्ष अगाडि पाँचपोखरीमा बाक्लो हिमपात हुँदा बिहानी पख झन्डै १ हात लामो पाइला प्रत्यक्ष देखेको बताए। त्यो सामान्य जनावर, मान्छेको वा हिमाली भालुको नभई यतीकै पाइला थियो भन्ने कुरा दाइले बताए। यती नै नदेखे पनि सामान्यभन्दा निकै ठूलो पदचिह्न देख्दा अरु के अनुमान लगाउने र? अझै पनि धेरै हिमाली गाउँहरुमा यतीका कथा गुन्जिन्छन्। अरु तथ्य हरु बिस्तारै आउलान्, तर होइन, छैन भन्ने कुरोको कुनै आधार भने छैन।
हामी गफिँदै जाँदा भाइबैनीहरु सुत्नतिर लागे। वाङ्दी दाइ मजस्ता भाइ भेटेकोमा गफ गरेर रात बिताउने भनेर यसो ठट्टा मार्छन्। म तपाईंजस्तै सामान्य भुइँमान्छे हुँ भनेर भन्दा, हो त्यस्तै देखिनुहुन्छ भन्छन्। राम्रा मान्छेसँग गफ गर्ने मौका छाड्नु हुन्न। कहिलेकाहीँ ३र४ बजेसम्म पनि गफ हुन्थ्यो भनेर दाइ मलाई सुनाउँछन्। म पाँचपोखरीका अरु कुरा जान्न लाग्छु। उनले सुनेका किंवदन्तीहरु मलाई सुनाउँछन्। वाङ्दी दाइका लागि पाँचपोखरी त पानीपँधेरोसरह रैछ भन्ने बुझियो। केही किंवदन्ती मैले पनि पढेको थिएँ, केही दाइबाट नै सुनेँ।
पाँचपोखरी किंवदन्ति
१. पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ। ढुंगामा कुँदेर बयान गरिएको त्यहाँको किंवदन्ती छ जसमा भनिए अनुसार झन्डै २४०० वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुग्दा धान खेती गरिरहेको देखेछन्। यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन्। मन्दिर भित्रको ठूलो ढुङ्गामा लुकेका थिए रे।
खोज्न जाँदा कोही नभेटिएको र यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन्। झन्डै ३०० वर्ष पहिले एउटा ब्याउन लागेको गाई मात्रै पालेका एक वाइबा दाइ पाँचपोखरी साक्षत छन्र छैनन् भनेर जाँच्न गए अरे१ धुपबत्ती गरेर लु साक्षात ईश्वर भए मेरो घरमा ब्याउन लागेको गाई छ। लु १०० वटा बाछाबाछी देउ भने अरे,। भरे घर पुग्दा त गोठैभरि बाच्छाबाच्छी भए रे। अनि मन्दिरको अझै स्तरोन्नति गरे रे ।
२. स्कन्द पुराणका अनुसार सत्ययुगमा दक्षप्रजापतिद्वारा आयोजित यज्ञमा महादेवलाई नबोलाएकोमा सतीदेवीले गुनासो गर्दा पिताको मुखबाट पतिको निन्दा भएको सहन नसकी सोही यज्ञकुण्डमा हामफाली देहत्याग गरिन्। शिवले सतीदेवीको मृत शरीरलाई बोकेर हिंड्दा सतीदेवीको सम्पूर्ण शरीर पतनपश्चात् शिवले उत्तरापन्थमा तपस्या गर्न जाँदा सिंहमती नदीको शिरमा एक पाइला टेकेपछि त्यस ठाँउमा पादुका आकारको सानो तलाउ र नयाँ लिंग सिर्जना भयो। नयाँ लिंगको नाम नवलिंगबाट अपभ्रंश भएर कालान्तरमा नौलिंग रहेको बताइन्छ। सो नौ लिङ्ग डाँडा यसै जिल्लाको लागर्चेमा पर्दछ भने सिंहमती नदी झ्याडी खोलाको नामले परिचित छ। त्यसैगरी नौलिङ्ग डाँडाको उत्तरपूर्वको सामुन्ने पारिपट्टीको डाँडामा शिवले पाँच रात उपवास बसी पाँचवटा दहमा नुहाएको हुँदा पाँचपोखरी नामकरण भएको भन्ने भनाइ छ। यहाँका कुण्डमा स्नान गर्नाले पाप नाश हुन्छ भन्ने विश्वास रहेको पनि पाइन्छ।
३. इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नामसमेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड। स्कन्द पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र वाणगंगा ९कुरुक्षेत्र० समानका तीर्थ स्थल मानिएको छ। शिवपुराणका अनुसार हिमालयपुत्री पार्वतीले घोर तपस्या गरेपछि शिव प्रसन्न भई इन्द्रको रुपधारण गरी वरदान माग भने। पार्वतीले महादेव पति पाउँ भनेपछि इन्द्ररुप धारणा गरेका महादेवले आफ्नै निन्दा गर्दै आफूसँग विवाह गर्न भने। त्यो सुनेर पार्वती क्रोधले श्राप दिन लाग्दा शिव त्रसित भई आफ्नै दर्शन दिए।
शिवको साक्षात दर्शन पाएपछि पार्वतीका दुइ लाल नेत्रबाट चुहिएका अश्रुधाराबाट दुइ नदी उद्गम भयो( इन्द्रको रुप लिएर परमब्रम्हाको दर्शन दिएकोले नाम इन्द्रावती र ब्रम्हायणी भएको मानिन्छ। ब्रम्हायणीलाई बलेफीको नामले चिनिन्छ। ती दुवैको उद्गम स्थल पाँचपोखरीको डाँडा भएको हुँदा यसको छुट्टै महत्व रहेको छ। विश्वामित्र र शृङगी ऋषीले पनि यसैठाउँमा तपस्या गरेका थिए भन्ने धामिक किंवदन्ती पनि पाइन्छ। यसैगरी भीमसेन थापा लखेटिँदा पनि यतै आएर बसेका थिए भन्ने भनाइ छ। भीमसेन थापाले चलाएको पाँचपोखरी दर्शनार्थ जानेहरुलाई दही, चिउरा खुवाउने चलन अझै पनि कायमै छ।

पाँचपोखरीमा राम्रा मन भएकाले मागे पूरा हुन्छ, तपाईंले पनि माग्नुस है भनी दाइले मलाई सुझाए। झन्डै गफिँदागफिँदा रातको ११ बजिसकेछ। अब भने सुत्ने बेला भयो भनेर सुत्नतिर लागियो। रातमा चन्द्रमा हेर्न भनेर उठें। दृश्य बडो लोभलाग्दो थियो। चिसो रात, हिमाल टल्किएको थियो। आकाश ताराहरुले सजिएका थिए १ बिहान उठ्नुअघि नै टुपी डाँडामा बसेका यात्रीहरु दाइका घरसम्म चिया खान आइपुगेका थिए। उनीहरु त्यहाँबाट हिँडेपछि बल्ल हामी उठ्नतिर लाग्यौंं। चिसो थियो, ओछ्यान छाड्न मन थिएन। ओछ्यान नछाडे समयमै गन्तव्यमा नपुगिएला भन्ने पीर पनि त थियो। दाइलाई चिया बनाउन लगाइयो। अनि बाटातिर खान अन्डा उसिन लगाइयो।
सबैजना फ्रेस भएर चिया र बिस्कुट खाएर हामी निस्कियौँ। दाइ बसेको खर्क छाडेर अब हामी उकालो लाग्न थाल्यौँ। अग्ला अग्ला र बडा बडा हिमाली सल्लाहरुको बीचबाटो भएर यात्रा थाल्दा स्वर्गीय आनन्दको अनुभूति भइरहेथ्यो। निक्कै कुनोसम्म तेर्सो बाटो पनि आयो। अब खोल्सो तरेपछि नोस्यामपाटीसम्म उकालो हिँड्ने बाटो सुरु भयो।
खोल्सोमा पूल हाल्दै रहेछन् मानिसहरू। हामीलाई माथिबाट ढुङ्गा पल्टिन सक्छ भनेर छिटो छिटो जान भन्दै थिए। हामी ६ जना नै गफिँदै हिँडिरह्यौँ १ बाटाका विभिन्न ठाउँमा यात्रीहरु भेटी नै रह्यो। कतै याकहरु लजका सामान लिन बजार झर्दै थिए, कतै यात्रीहरु सुस्ताइरहेका थिए। अनि हामी नोस्यामपाटी वरको माने भएको ठाउँमा गएर थकान मार्यौँ। ३ घन्टा यात्रामा २,८०० मिटरको ताङ्गु खर्कबाट झन्डै ३,५०० मिटरमा पुगिसकेका रहेछौँ हामी १ हामीभन्दा घन्टौं अघि निस्किएका यात्राका टोलीहरुलाई पनि त्यतै भेट्यौँ। ती बिस्तारै हिँडे या हामी छिटो हिँड्यौँ।
नोस्यापाटीको माने भएको विश्रामस्थल छेउमा गरिएको फोहोरले मन खिन्न बनायो। हुन त बाटाभरि विभिन्न ठाउँमा हामी जस्ता यात्रीहरुले फालेका प्लास्टिकजन्य फोहोरहरु धेरै देखिए र त्योचाहिँ त्यहीँकै समुदाय र विदेशीले फोहोर गर्योे भनेर भन्नु अन्याय हुन जान्छ १ हामीजस्ता पढेलेखेका र बुज्रुक भनिएकाहरूको काम हेर्नोस्, झोलाभरि जंकफुड बोकेर उकालो जान पनि सक्ने हो। तर त्यै खाइसकेर प्लास्टिकजन्य फोहोरलाई आफैंले झोलाभित्र राखेर निश्चित फोहोर फाल्ने ठाउँसम्म लगेर फाल्न वा जलाउन नसक्ने हामी नै? झन्डै दर्जन पदयात्रा गरिसक्दा पनि हामीचाहिँ चाउचाउ, बिस्कुट खाइसकेर प्लास्टिकलाई लजमा जलाउन दिन्छौं। खैर जे होस् कम्तिमा यस्ता कुराले पर्यावरणलाई नराम्रो बनाउँछ भन्ने कुरो सबैले हेक्का राख्नुपर्छ। पाँचपोखरी पुगेर फर्किँदै गरेका यात्रीहरुसँग केही गफिएपछि हामी सरासर नोस्यामपाटीतिर उकालिन थाल्यौं। बाटो केही तेर्सोजस्तो देखिए पनि झन्डै १ घन्टा लगाएर त्यहाँ पुग्यौं। आकाश बादलले छेकिँदै थियो।
असिना पनि छिटाउँदै थियो। बाहिर निक्कै चिसो हावा बहँदै थियो। हामी पनि चिसोले कक्रिन थालिसकेका थियौ। लजवाला दाइलाई खान बनाउन लगायौँ। खाना खाएर झन्डै १२ बजे निस्कियौँ। नाङ्गा डाँडाबाट दौडिएका बाटाहरु कतै नागबेली, कतै उकाला कतै ओरालो हुँदै अनगिन्ती पहाडहरु काटिए। सुनपाती र धुपीका बास्नाले बाटोहरु मगमग बसाइरहेका थिए। ३ ठाउँ ज्यादै ठाडा उकाला थिए।
लौरीविनाको ठाडो उकालो र पाँचपोखरी पुग्नु अघि ७ घुम्तीको उकालो कटाउन निकै हम्मेहम्मे पर्यो। म र अन्जन एकजना तामाङ दाइकै गतिमा गफिँदै हिँडिरहेका थियौँ। अंकितलाई हिँडन गाह्रो भएको देख्न सकिन्थ्यो। आभालाई प्यास लागेको थियो। बाटाभरि कतै पानी थिएन। हामीले बोटल नोस्यामपाटीमै बिर्सेछौँ। पछि तामाङ दाइ पाँचपोखरी पुगिवरी पानी ल्याइसकेछन्। मिलन, सबिन, अंकित र आभा निक्कै पछि थिए।
हामी पुग्यौं ४२०० मि को उचाइमा रहेको हाम्रो गन्तव्यमा, खुसीले गदगद भयौँ। कठिन यात्राबाट सुन्दर गन्तव्यहरु भेटिँदा दुस्खहरुले पनि आराम पाउँदा रहेछन्। म सोच्छु बिचरा दुःखहरुले पनि कति दुःख पाउन् क्या, कहिले कहिले दुःखहरूले पनि सुख प्रत्याभूति गरुन्। म त्यहीँको घाँसे मैदानमा ढ्ल्किएँ। तामाङ दाइले लजको चाबी दिए। अन्जन र म गयौं। पछि तामाङ दाइसँगै हाम्रा टोलीहरु आइपुगे १ केही बेर यताउता डुल्यौँ, कुण्डहरु हेर्यौं। सबैभन्दा सानो कुण्डकै माथि दाइको लज रैछ। रातमा त्यहीँ बस्यौं। रातभर निद्रा राम्रोसँग लागेन। हामी झन्डै ४,२०० मिटरको उचाइमा रहेछौं। रातको आकाश खुल्ला थियो। मिल्की वे ग्यालेक्सी पनि प्रष्ट देखिन्थ्यो। तामाङ दाइसँग केही कुराहरु पनि गरेँ। नेपाली पर्वतारोहण र हिमाली क्षेत्रबारे शेर्पा जातिका मात्रै कुरा गरिए। तर तामाङ जातिबारे चर्चा मैले खासै सुनेको छैन। दाइसँग विविध विषयमा कुरा गरेपछि मौका पाउने हो, भूमिका पाउने हो भने हिमाली भेगका तामाङहरु शेर्पा जातिले जत्तिकै नाम कमाउन सक्ने रहेछन्। उनीहरु पनि बेला मौकामा विदेशीलाई लिएर हिमाली भञ्ज्याङतिर सामानहरू बोकेर हिँडेका रहेछन्। उचाइका धेरै कामहरु मस्त गरिरहेका छन्।
‘मौका पाउने हो भने हामी पर्वतारोहण र हिमाली यात्राका हर काम गर्न सक्छौं,’ ती दाइको वाक्यले मेरो मथिङ्गल हल्लाइदियो। रातमा धेरै पटक उठेँ। कुण्डमा जूनको प्रतिबिम्ब अख्खा सुन्दर थियो। सबै अनिँदो नै थिए। सबै बिहानको प्रतीक्षामा थिए। मात्रै लजवाला तामाङ् दाइ मस्त निदाएका थिए। बिहान हुनेबित्तिकै हामी चिया खाएर ४,३०० मि को मानेडाँडातिर उक्लियौँ। हिँड्दै गरेका टोलीहरुलाई पछाडी पारेर मिलन, म र अन्जन उक्लिरह्यौँ। पहिले हामी पुग्यौं, त्यहाँको मन नै तान्ने दृश्यले एकछिन त हर्षले चकित नै परियो।
जब मानेडाँडा पुगेर जुगल हिमशृङ्खला र पाँचपोखरीलाई एकसाथ चियाइयो, तब यात्राका कठिन र विषमताले पनि एकसाथ विश्राम लिएको अनुभूति भयो।एक त माने डाँडाबाट जुगल हिमशृंखलालाई नजिकै, आफैंअगाडि देखिँदो रहेछ र अर्कोतिर ५ कुण्ड ( पाँचपोखरी) लाई लहरै देखियो। माने डाँडामा माने पनि थियो। लुङ्दारहरु फरर फर्फराईरहेका थिए। मानौं ती हामीलाई हृदयबाट नै स्वागत गरिरहेका छन्। बिहानी न्यानो घामले माहोल तताउँदै थियो। परपरसम्म उभिएका पहाडहरुको लहर बडा सुन्दर थियो। अनि माथिबाट फर्केर तल मन्दिर भएको ठाउँमा आयौं। दर्शन गरेर जल बोकेँ।
अब बिस्तारै फर्कने कुरो भयो। चिया खाएर हामी गन्तव्यलाई बिदाइ माग्नतिर लाग्यौं। जति नै सुन्दर वा मन परे पनि छाडी जानै पर्ने त रैछ। आखिर सम्झना त बोकियो नि र ती सम्झना कोट्याउने तस्बिरहरु। वरपर, यताउति हिँड्दै हामी बिस्तारै फर्कियौँ। चिसो चिसो थियो। टाढा टाढाका अङ्गालो हाली उभिएका पहाडहरुलाई हेर्दै हिँडीरह्यौं, घन्टौं हिँड्यौँ तर पहाडहरु एकपछि अर्को थपिएझैं लाग्थ्यो। नोस्यामपाटी नपुगुन्जेल नाङ्गा पहाडहरु कहिले सकिएलाजस्तो भइरहेथ्यो। नोस्यामपाटीबाट चिया खाएर हामी तल झर्न थाल्यौं।
यात्रीहरु झन् झन् ठूलो संख्यामा आइरहेका रहेछन्। निरन्तर ३ घन्टा ओरालो र तेर्सो बाटो हिँडेर हामी ताङ्गु खर्कका दाइको घरमा पुग्यौँ। त्यहाँ गाई र याकहरु चर्दै रहेछन्। एकजना युवती थिइन्। मुसुक्क हाँसिरहेकी। मैले नै बोल्न सुरु गरेँ। मानेखर्कभन्दा माथि नोस्यामपाटीको गोठमा गाई लिएर जान आँटेको रे। उनी चाहिँ डालोमा खाने कुरा बोकेर हिँडेकी रहिछन्। हजुरबुवा चाहिँ गोठाला भएर मानेखर्कदेखि आइपुगेका रहेछन्। केही बेर गफियौँ। अनि चिया खायौं। चियाको पैसा लिन मानेनन्। एउटा तस्बिर सम्झनाका लागि सबैसङ्ग खिच्यौँ। दाइलाई हाम्रो घर हेलम्बुसम्म निम्तो दियौं। ताङ्गु खर्कबाट विदावारी हुँदा साँच्चै भावुक भएको थिएँ। हामीलाई टाढाटाढासम्म हेरिरहेकि थिइन् ती मुस्कान साट्ने नानी पनि १ मुस्कानहरु पनि साटिएछन्।
देउराली आइपुग्दा साँझ छिप्पिँदै थियो। हामीले चिया मगायौँ। बसबाट छिम्ती झरेकाहरु देउराली आउँदै रहेछन्। १०र१२ जनाको टेन्ट टोली पनि देखियो। सबै उत्साहित देखिन्थे। बोली रहेका थिए। टेन्ट कता हाल्ने, के गर्ने भनेर बोल्दै थिए। रातसम्म पनि हल्लाखल्ला चल्दै थियो। हामीलाई चिसोले अँठ्याएको थियो। तातो भात खाएर सुतिहाल्ने कुरो थियो। देउरालीमा खाना खाँदै गर्दा मैले जानेको १र२ वाक्य तामाङ बोल्देको थिएँ। त्यहाँ हाँसोको माहोल जन्मियो। तामाङ्ग मेमेले हामीलाई तामाङ्ग सिकाउँदै थिए। भातलाई सित्लाकान, आलुलाइ टेमे, खानुलाई चाबा, अघायोलार्इ योजी भनेर भन्दै थिए। आभालाइ टेमे कान्छी भनेर जिस्काइदिए मेमेले। खाना खाएर हामी ढल्कियौँ।
बिहानीपख सबेरै उठेर हामी बस स्टेसनमा पुग्यौं। भाइहरु ५ बजेदेखि हतारिन थालिसकेका थिए। म भने उनीहरुको अड्डीमा पनि तगारो बनिसकेको थिएँ। केही घन्टा आराम गरेर ८ बजेको गाडीमा जाने भन्ने कुरोपछि उनीहरु चुप भए। ६ बजे उठेर चिया खायौं। बाहिर टेन्टमा सुतेकाहरुको खलबल सबेरैदेखि सुरु थियो। चिसो हुँदो रैछ, माथि कसरी बस्ने, के गर्ने भन्ने वाक्य पनि यदाकदा सुनिन्थ्यो। हिमाल यात्रामा टेन्ट ठूलै बोकेर हिँडी हाल्न पर्छजस्तो देखिन्न। २८०० मिटरको उचाइमा उनीहरु त्यसो भन्दैछन्, ४२०० मिटरमा हामी ४ वटा ब्ल्यान्केट खप्ट्याएर सुत्दा पनि चिसो भइरहेकै थियो। ठूला समूह हुँदा त ठीकै पनि होला तर ३/४ जनाको समूह बनाएर हिँड्दा हिमाल यात्रामा टेन्ट बोकेर हिँड्न गाह्रो छ। केही यात्रामा भेटिएका साथीहरुले नोस्यापाटीकै लज तिर छोडेका भन्दै थिए।
क्याम्पिङ गर्ने कुरो पनि ४,२०० मिटरतिर सजिलो कुरो होइन, पहिलो त दाउरा पाउन मुस्किल छ। याकबाट ग्याँस वा झन्डै ५० केजीको सामान ल्याउँदा नै ढुवानी खर्च झन्डै एउटा याकको ३५०० पर्न जाने रैछ। यो यताको मात्रै कथा होइन लगभग ४,००० मिटरमाथि सबै हिमाली ठाउँको बाध्यता पनि हो। यी कुरा सबैले बुझेर यात्रा गर्दा गज्जब होला। अनि हामीले चिया खायौं र छिम्तीतिर ओरालियौँ। आइमाइहरु कोक्रोमा बच्चा बोकेर उकालो लाग्दै थिए। अझै पनि कोक्रोमा बच्चा हुर्किरहेको देख्दा सुन्दर लाग्यो। कोक्रो नै हामी बच्चाको पैलो घर हुन्थ्यो। पहिले बस्ने, सुत्ने, खेल्ने, खाने आहा १ अब त धेरै कुराहरु कथामा मात्रै सीमित हुन थाले। कोही गाई गोरु लिएर माथि जाँदै थिए। सेनिटाइजर, मास्क सबै तयारी पूरा गरेर गाडीमा बस्यौँ। हिमाल सुन्दर त थियो नै, तर जीविका धान्न मानिसहरु सबेरैदेखि गिटी फुटाउँदै गरेका महिला देखेर खिन्न पनि भयो। उस्तैगरी दृश्य हेर्दै हामी फेरि मेलम्ची बजार झर्यौं। घर फर्किन बसको प्रतीक्षा सुरु गर्यौँ।
पहिलो दिन - काठमाडौं-छिम्ती-ताङ्गु खर्क र टुपीडाँडा
दोस्रो दिन- ताङ्गु खर्क-नोस्यामपाटी-पाँचपोखरी
तेस्रो दिन- पाँचपोखरी-देउराली-छिम्ती
चौथो दिन- ६ बजे/८ बजेको बस समात्ने
(खड्का एमबिबिएस अध्ययनरत छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।