विराटनगर- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानुन अनुसार कारबाही गर्ने दृढता व्यक्त गरे।
आपूर्तिमन्त्री यादवले अहिले मुलुकमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा मात्र नभै उद्योग क्षेत्रमा पनि सेण्डिकेट रहेको उल्लेख गर्दै सरकारले जुनसुकै सिन्डिकेट प्रथालाई जराबाटै उखेल्ने बताए।
कानुनको जटिलताका कारण नै उपभोक्तासँग बढी मूल्य लिने चारपाङ्ग्रे गाडी व्यवसायीलाई कारबाही गर्न नसकेको बताउँदै उनले यस सम्बन्धमा कानुन निर्माण गरी उपभोक्तालाई सुपथ मूल्य चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे यातायात खरिद गर्ने व्यवस्था मिलाइने बताए।
नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता कार्यदलका सदस्य समेत रहेका मन्त्री यादवले आफूहरुले सफलतापूर्वक कार्य सम्पन्न गरेको बताउँदै संयोजन समितिमा दुबै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताए।
उनले दुबै पार्टीबीच एकता हुने स्पष्ट पार्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई अलग-अलग धार र सोचको पार्टी भएकोले दिगो एकताका लागि गहन छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।