काठमाडौं- केरुङ–काठमाडौं रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।
रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने भएका हुन्। रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि आउन लागेको हो।
आगामी अगस्टसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ। नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो।
हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ भदौ अन्तिम साता गरेको चीन भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरेका थिए। चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणका बारेमा छलफल गरेका थिए। छलफललगत्तै चिनियाँ रेल प्रशासनका उच्च टोलीले केरुङ– काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो। अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैसाख पहिलो साता गरेको चीन भ्रमणका क्रममा समेत रेलमार्ग निर्माण तथा विस्तारका बारेमा छलफल गरेका थिए। सो छलफलका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारीसमक्ष आग्रह गरेका थिए।
नेपाली सीमा रसुवागढीदेखि काठमाडौँसम्मको रेलमार्ग करिब एक सय किलोमिटर लामो हुनेछ। एक घन्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ। सो रेलमार्गबारे अध्ययन गर्न नेपाली प्रतिनिधिमण्डल बैसाख १५ गते चीन प्रस्थान गरेको थियो।
नेपाल र चीनलाई जोड्ने सो रेल चीनको लाह्सा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ। सोही रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्को लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ।
रेलमार्गमा सुरुङ र पुलको मात्रा बढी हुनेछ। सो रेलमार्गमा ६ वटासम्म स्टेशन रहने बताइएको छ। चीनबाट फर्केपछि रेल विभागका प्रवक्ता उपाध्यायले चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको जानकारी दिए।
'आगामी अगस्टसम्म प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। सो अध्ययनपछि रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), लगानीको स्वरुप तथा ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढ्छ,' प्रवक्ता उपाध्यायले भने।
चीनमा रहँदा नेपाली अधिकारीले चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसँग रेलमार्ग निर्माणका बारेमा महत्वपूर्ण छलफल गरेको थियो।
यस्तै काठमाडौँ उपत्यकामा पनि मोनोरेल चलाउन पनि चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। चक्रपथमा मोनोरेल चलाउन काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।