काठमाडौं- बुटवल पावर कम्पनी (बिपिसी) ले ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजना खरिद गरेको छ। बिपिसीले भारतीय जिएमआर समूह अन्तर्गतको हिमताल हाइड्रो पावर कम्पनीबाट १९.४ प्रतिशत सेयर किनेको हो।
हिमताल हाइड्रोपावर कम्पनीका सम्पूर्ण सेयरहरु खरिद गर्नका लागि बिपिसी, एससिआइजी इन्टरनेसनल, नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार तीन चिनियाँ कम्पनीहरु, आयोजना कम्पनीका विदेशी सेयरधनी जिएमआर इनर्जी लिमिटेड तथा स्थानीय सेयरधनीहरुबीच बैसाख २१ गते सम्झौता भएको थियो।
त्यसैगरी बुटवल पावरले मर्स्याङ्दी नदीमा नै निर्माण हुन लागेको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीको लगानी भित्र्याएको छ। आयोजनामा पश्चिम चीनका सिचुवान प्रोभिन्सल इन्भेस्टमेन्ट ग्रुप, चेङ्गदु सिंचेन इन्भेस्टमेन्ट ग्रुप र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले लगानी गर्न लागेका छन् ।
सेयर खरिद गर्नका लागि बिपिसीले विदेशी सेयरधनी राजरातन इनर्जीसँग २०७४ चैत १२ गते सम्झौता गरेको थियो। त्यस्तै, स्थानीय सेयरधनी मर्स्याङ्दी पावर कम्पनीसँग २०७४ चैत १५ मा सेयर खरिद बिक्री सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।