काठमाडौँ- नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ। दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन्। यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ।
चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए।
अध्ययन एवं अवलोकन भ्रमणका लागि मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा बैसाख १५ गते सात सदस्यीय प्रतिनिधिमण्डल चीन गएको थियो। प्रतिनिधिमण्डलमा प्रवक्ता शर्मा, मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्य लगायत सहभागी थिए।
प्रतिनिधिमण्डलले चीनमा रहेको रेलमार्गको पूर्वाधारबारे साताव्यापी अध्ययन सकेर शनिबार नेपाल फर्किएको थियो। चीन सरकारको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो।
'भ्रमणका अवसरमा केरुङ–काठमाडौँ ७५ किमी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार पार्ने र नेपालको भौगर्भिक अवस्थाले पनि नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएकाले रेलमार्गको सम्भाव्यता अनुसन्धान गर्ने सहमति भएको छ,' प्रवक्ता शर्माले भने।
चीनले नेपालका रेल अधिकारीलाई तालिम दिने र रेल नेटवर्क विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। दुई देशबीचको वार्ताका क्रममा चिनियाँ रेल प्रशासनका अधिकारीहरुले नेपालमा रेल मार्गको विकासका लागि राष्ट्रपति सी जिन पिङले उच्च प्राथमिकता दिएको सुनाएका थिए।
राष्ट्रपति जिन पिङले रेल प्रशासनका अधिकारीलाई नेपाललाई रेल मार्गको पूर्वाधारमा सक्दो सहयोग गर्न निर्देशन दिएको वार्ताका क्रममा रेल मन्त्रीले नेपाली प्रतिनिधिमण्डललाई सुनाएको प्रवक्ता शर्माले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।