काठमाडौं- सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ।
लामो समयदेखि आयोजना निर्माणबारे अन्योल रहेको बेला सरकारले ठेकेदार छनोट गर्ने तयारी गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले आगामी आवमा नै आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने गरी आवश्यक तयारी गरिएको जानकारी दिए। कूल १ हजार २ सय मेगावाट क्षमताको सो आयोजना पूर्ववर्ती सरकारले नेपाली लगानीमा नै निर्माण गर्ने निर्णय गरेको थियो। आयोजनालाई लगानीयोग्य बनाउन करिब रु एक खर्ब अनुदान दिने निर्णयसमेत पूर्ववर्ती भएको थियो।
आयोजनाका लागि चालू आवमा रु १० अर्ब बजेट विनियोजन गरिएकामा त्यसबाट स्थानीय प्रभावितलाई मुआब्जा वितरण लगायतको काम जारी रहेको छ। यस्तै नेपाल आयल निगमले आयोजनाका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करबाट हालसम्म र १८ अर्ब रकम जम्मा भइसकेको छ। सरकारले आगामी आवका लागि सो आयोजनामा रु १८ अर्ब बजेट उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ। आयोजनाको कूल लागत रु दुई खर्ब ७३ अर्ब रहेको छ। आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछन्।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको आयोजना भएकाले पनि निर्माण सुरु गरिहाल्न कुनै समस्या नभएको मन्त्रालयले जनाएको छ। सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनामा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।