चितवन– औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्न खालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ। हालसम्म चितवनमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ।
सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा करिब २ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ। व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ।
पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा ८० अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। जसको आधा हिस्सा अर्थात ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै छ। दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो। दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन्।
पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ। सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल सञ्चालनमा छन्। त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवं पार्टी प्यालेसमा ठूलो लगानी गरिएको छ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १ सय ५४ वटा पर्यटकीय होटल छन्। सो क्षेत्रमा मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान गरिएको उनले बताए।
त्यस्तै मेडिकल सिटीको अवधारणामा अघि बढेको चितवनमा स्वास्थ्य क्षेत्र पनि धेरै लगानी हुने क्षेत्रमध्येमा पर्दछ। चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै हालसम्म ४ अर्ब रुपैयाँ लगानी भएको छ। जिल्लाभरमा २ वटा मेडिकल कलेज र २२ वटा निजी अस्पताल सञ्चालनमा छन्। मेडिकल कलेज र निजी अस्पतालमा गरी १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ।
शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १ सय ८० निजी विद्यालयमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी छ। त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन्। युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा ३ अर्बभन्दा बढी लगानी गरिएको छ।
उद्योग वाणिज्य महासंघ प्रदेश ३ का उपाध्यक्ष एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्यांक संकलन नभए पनि साना तथा ठूला गरी करीब ४ हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन्।
गौतमका अनुसार १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएका उद्योगको संख्या २५ भन्दा बढी छन् भने ५० करोडभन्दा बढी लगानी भएका उद्योग १ सय वटा, २५ करोडभन्दा बढी लगानी भएका उद्योग २ सय वटा, १० करोडभन्दा बढी लगानी भएका उद्योग ४ सय वटा र १ करोडभन्दा बढी लगानी भएका उद्योगको संख्या ८ सयको हाराहारीमा छन्। १ करोड रुपैयाँभन्दा कम लगानीमा सञ्चालन भएका उद्योगको संख्या ३ हजारभन्दा बढी भएको गौतमले बताए।
घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगको संख्या ९ हजार ६ सय ६३ रहेको छ। कार्यालयमा सेवा क्षेत्रका फार्मसमेत दर्ता हुने गर्छन्। सो कार्यालयको तथ्यांकअनुसार उद्योग एवं फार्ममा १३ अर्ब ९५ करोडभन्दा बढी लगानी भएको छ। अधिकांश ठूला उद्योग कम्पनीमा दर्ता भएकाले ती उद्योगको यकिन तथ्यांक जिल्लामा उपलब्ध हुन नसकेको हो।
उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले जिल्लाका उद्योगमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको बताए। पोल्ट्री, होटल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको उनको भनाइ छ। जिल्लामा ३ वटा बियर उद्योग छन् भने मदिराका उद्योग, बोटलर्स नेपाल (तराई) लिमिटेड, फर्माक्युटिकल्सहरु, प्लाष्टिकजन्य उत्पादन, कृषिजन्य उद्योग, जस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको उनले जानकारी दिए।
दुवाडीका अनुसार शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र सुरु भएपछि थप २ खर्ब रुपैयाँ लगानी हुने अपेक्षा गरिएको छ। सो क्षेत्रमा १ हजार उद्योग सञ्चालन गर्न सकिने भन्दै उनले पुराना ५ सय उद्योग र नयाँ ५ सय उद्योग त्यहाँ स्थापना हुने उनले बताए।
देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन भएको उद्योगीहरु दावी गर्छन्। देशभरका बासिन्दाको संगमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उनको भनाइ छ।
उद्योग संघले नवलपुर र मकवानपुरलाई चितवनमा जोडेर औद्योगिक र आर्थिक राजधानी बनाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको दुवाडीले बताए। काठमाडौँं साँघुरो भएकाले काठमाडौँ र देशकै लागि चाहिने उत्पादन गर्ने क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने उनले तर्क गरे।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले औद्योगिक वातावरण जिल्लामा रहेकाले लगानी गर्ने क्रम बढेको बताए। शक्तिखोर औद्योगिक क्षेत्र बनेसँगै उद्योगमा थप लगानी हुने उनको भनाइ छ।
पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन्। (नारायण अधिकारी/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।