एजेन्सी-
कोरियाली सांगीतिक समूह बिटिएसका धेरै फलोअर्स छन् नेपालमा। उनीहरुको नयाँ गीत रिलिज हुनेबित्तिकैे युट्युब ट्रेन्डिङमा अड्डा जमाइरहेको हुन्छ । बिग हिटको छायाँमा बसेको बिटिएस एसियाको सबैभन्दा धेरै ख्याति कमाउन सफल सांगीतिक समूह हाे। कोरियाको यो समूहमा तीन र्यापर र चार जना भोकलिष्ट छन् । यो समूहकाे निर्माण २०१३ मा भएको हो ।
आउनुहोस्, बिटिएसका सदस्यलाई चिनाैं, अनि उनीहरुका रोचक कुरा थाहा पाऔं-
आरएम

किम रमजोङ अर्थात आरएम बिटीएसका मुख्य र्यापर तथा निर्माता हुन् । सन् १९९४ को सेप्टेम्बर १२ मा जन्मिएका उनी गीत लेख्न मन पराउँछन् । बिटिएसमा सहभागी सात जनामध्ये उनी सबैभन्दा पहिला सदस्य हुन्।
सुरुसुरुमा र्यापका राक्षस, आइडल बन्ने खालको अनुहार नभएकाे मानिसजस्ता नमिठा प्रतिक्रिया उनलाई आउँथ्यो । पत्रकारले पनि उनलाई हिपहप संगीत बिगारेको आरोप लगाउँथे । यस्ता कुराले उनलाई आइडल र र्यापरमा के फरक हुने रहेछ भनेर सोच्न बाध्य बनायो । उनले सन् २०१५ मा यसको उत्तरका लागि निकै आक्रोसित मिक्सट्याप नामक र्याप बनाए । उक्त र्यापपश्चात् उनले अमेरिकामा नाम चलेका र्यापरसँग काम गरे। बिटिएसका सात सदस्यमध्ये खरर्र अंग्रेजी बोल्ने उनीमात्रै छन्। समूहका लिडर भएकाले केही अफ्ट्यारो परे उनैले सम्हाल्छन्।
जिन

किम सेयोकजिन अर्थात जिन बिटिएसका भोकलिष्ट हुन्। सन् १९९२ डिसेम्बर ४ मा जन्मिएका उनी नाटकका बिद्यार्थी थिए, जो बसबाट घर आउनेजाने गर्थे। उनी आफूलाई वर्ल्डवाइड ह्यान्सम अर्थात् विश्वकै सुन्दर केटोको रुपमा परिचित गराउन रुचाउँछन् । त्यसैले उनी निकै ट्रोल र भाइरल पनि हुने गर्छन्। त्यस्तै उनले नै फ्लाइङ किसलाई पनि चर्चित बनाएका थिए।
जिन बिटिएसका टोलीमध्ये सबैभन्दा जेठा छन्। त्यसैले बेलाबेला उनले आफू जेठो हुनुको बेफाइदा पनि बेहोर्नुपर्छ। उनले बेलाबेला आफूभन्दा सानालाई खाना पकाएर खुवाउने गर्छन् । यसलाई टोलीका सदस्यले ‘इट जिन’ (जिन खाने) सेगमेन्ट भन्दै जिस्काउँछन्।
जिनलाई जोक्स भन्न पनि निकै मनपर्छ। उनी आफैं जोक्स भन्छन् र एक्लै हाँस्छन्। उनको हाँसो सुनेर मात्रै जोक्स सुन्नेहरु हाँस्छन्।
त्यसो त जिनसँग संगीतको पृष्ठभूमि थिएन। त्यसैले उनले आफू गायक हुँ भनेर उभ्याउन निकै चुनौतीको सामना गर्नुपर्यो। बिग हिटले दिएको अवसरमा उनले पहिलो सोलो गीत 'अवेक' गाएका थिए । खाली समयमा जिनलाई गितार सिक्न मनपर्छ ।
सुगा उर्फ अगष्ट डि

मिन योङगी अर्थात सुगा र्यापर तथा निर्माता हुन् । अगष्ट डि नामबाट समेत परिचित उनको जन्म सन् १९९३ मार्च ९ मा भएको हो।
सुगालाई पनि सुरुवाती दिनमा पप आइडलका रुपमा उभ्याउन निकै सकस पर्यो। उनले निकै हिंसात्मक प्रतिक्रियाको सामना गर्नुपर्यो। उनी कोरियामा सबैभन्दा छिटो र्याप गाउन सक्ने फायर र्यापरका रुपमा समेत परिचित छन् ।
सुगा टोलीका सबैभन्दा धेरै सुतुवा र अल्छीमा गनिन्छन् । यहाँसम्म कि उनी काम गरिरहेका बेला पनि भुसुक्कै निदाउँछन्। सुरुवाती दिनमा आफूलाई सफल र धेरै पैसा कमाउन मन लागेको भए पनि अचेल चर्चामा आउन मन नपर्ने उनको धारणा छ । उनलाई अब गीतमात्रै लेखेर बस्ने रहर छ । सुगा किशोरावस्थामा निकै गरिब थिए। उनी पार्टटाइम काम गरेर आफ्नो गुजारा चलाउँथे। संगीतमा लाग्न परिवारको साथ नभएकाले उनी झगडा गरेर घरबाट निस्केका थिए।
जे होप

जोङ होस्के अर्थात जे होप र्यापरसँगै लिड डान्सर हुन् । सन् १९९४ फेब्रुअरी १८ मा जन्मिएका उनी स्ट्रीट डान्सर हुन् जो फ्रिस्टाइल डान्सरका रुपमा परिचित थिए ।
१० वर्षको उमेरदेखि नाच्न सुरु गरेका जे होप बिटिएसमा कोरियोग्राफी र नृत्य सम्हाल्छन् । जे होप देख्नेबित्तिकै उनको उज्यालो अनुहार र सकारात्मक ब्यक्तित्वले सबैको मन जित्छ। संगीत सुन्नेबित्तिकै उनको शरीर हल्लिन सुरु गरिहाल्छ।
उनको स्लोगन नै छ-आई एम योर एन्जल, आइ एम योर होप । अर्थात म तिम्रो परी हुँ, म तिम्रो आशा हुँ । उनको ध्यान जतिखेरै कसरी दर्शकलाई मनोरञ्जन गराउने भन्ने हुन्छ । सात जनामध्ये सबैभन्दा गज्जबको सेन्स अफ ह्युमर पनि जे होपकै छ । उनी अंग्रेजी कमजोर भएका सेलिब्रेटीमध्ये सबैभन्दा धेरै मेमे बन्ने ब्यक्ति पनि हुन् ।
जिमिन

पार्क जिमिन अर्थात जिमिन भोकलिष्ट तथा डान्सर हुन् । सन् १९९४ अगष्ट १३ मा जन्मिएका उनी आट्र्स स्कुलका टप (कन्टेम्पोररी डान्सर) समकालीन नृत्यकार पनि हुन्।
जिमिन स्टेजमा उत्कृष्ट पर्फमेन्स गर्ने कलाकारको रुपमा पनि चर्चित छन् । प्रायः स्टेज कार्यक्रममा उनले माथिका कपडा खोलेर दर्शकलाई सिक्स प्याक देखाइरहेका हुन्छन् । नाच्दै कपडा फुकाल्ने उनको कलालाई दर्शकले निकै मन पराउँछन् । साथीहरुले उनलाई दर्शकको धेरै मायाँ र ध्यान पाउन जे पनि गर्ने भनेर उडाउँछन् ।
उनलाई जहिल्यै आफ्नो स्वर कमजोर लाग्छ । यसले उनलाई छिट्टै निरास बनाइहाल्छ । तर टोलीका साथीहरुले उनको कन्फिडेन्ट बढाउन सधैं सहयोग गरिरहेका हुन्छन् ।
भी

किम तेह्युङ्ग अर्थात भी भोकलिष्ट र डान्सर हुन्। सन् १९९५ डिसेम्बर ३० मा जन्मिएका भी किसानका छोरा हुन् । भी ले सन् २०२० को विश्वकै सुन्दर केटोको उपाधि पनि जितेका छन्।
टिमका अन्य सदस्य भन्दा उनको नृत्य फरक हुनेगर्छ। उनी स्लोमोसनको नृत्य गर्न रुचाउँछन् । गायकको रुपमा पनि उनि उच्च स्केलको चर्को र आत्मादेखि गाउनेमा गन्निछन्। भी ले कोरियन ड्रामाहरुमा पनि अभिनय गरेका छन् ।
भी र जिमिन एकै वर्षमा जन्मिएकाले यी दुईबीच हरेक विषयमा प्रतिस्पर्धा भइरहन्छ । भी र्याप पनि गाउँछन् । उनले आरएम, सुगा र जे होपलाई आलोचना आएका बेला र्यापबाट सबैको मुख बन्द गराएका थिए। आरएमको मद्दतले उनले फो ओक्लक बोलको गीत पनि लेखेका छन् ।
भीको एउटा अचम्मको बानी छ। उनी यात्रा गर्दा आफूलाई मनपर्ने सेलिब्रेटीको नाम आफ्नो भन्दै हिड्न रुचाउँछन् । उनलाई गुचीका लुगा जम्मा गर्न, फेसन ट्रेण्ड फलो गर्न र फोटो खिच्न मनपर्छ ।
जंगकक

जियोन जंगकक अर्थात् जंगकक भोकलिष्ट र डान्सर हुन् । सन् १९९७ सेप्टेम्बर १ मा जन्मिएका उनी मुख्य भोकलिष्ट हुन् र बीचका डान्सर। उनलाई सबैले सुनको फुल पार्ने कुखुरा पनि भनेर जिस्काउँछन् । किनभने उनी गीत लेख्न, गाउन, नाच्न र र्याप गाउनमा समेत सिपालु छन्। उनलाई भने भिडियो इडिटमा रुची छ।
उनलाई गीत गाउन खासै रुची छैन। तर उनी समूहका मुख्य भोकलिष्ट हुन्। स्टेजमा नाच्दै गीत गाउनुपर्दा पनि उनकै आवाज सबैभन्दा स्टेवल छ। उनी खेलकुदमा पनि उत्तिकै पोख्त छन्। हाइ जम्प, लङजम्पमा मात्रै हैन, आर्चरीदेखि डिजिटल गेममा उनले सबैलाई माथ खुवाउँछन्।
उनी बिटिएसका सबैभन्दा कान्छा र लजालु सदस्य हुन् । उनी १३ बर्षको उमेरमै बिटिएस छिरेका थिए। बिटिएसका सबै सदस्यले उनको मिडिल स्कुल र हाइस्कुलको ग्र्याजुयसनमा सहभागिता जनाएका थिए । कान्छा भाइ भएकाले टोलीका सबै सदस्यले उनलाई धेरै कुरा सिकाएको र आफुलाई हुर्काइरहेको उनी बताउँछन्।

एजेन्सीहरुकाे सहयाेगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।