गलकोट (बाग्लुङ)- यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ। बाग्लुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बाग्लुङले यो वर्षको आदर्श विशेष सम्मान-०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरेको हो।
सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ। संस्थाकी अध्यक्ष हुमाकुमारी जिसीले सपुतलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेकी हुन्। लोकगीतबाट बाग्लुङलाई चिनाएको भन्दै सपुतलाई सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले बताइन्।
सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरी लै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन्।
यस्तै सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ। आदर्श सञ्चारका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु १० हजार राशिको हो।
थकाली नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाको अध्यक्षसमेत हुन्।
समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए। उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ। अहिले उक्त कोषको राशि एक लाख पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।