फलेवास(पर्वत)– कालीगण्डकी नदीमा जलाशययुक्त परियोजना सञ्चालनका लागि यस क्षेत्रका स्थानीय तह सहमत भएका छन्।
प्रदेश ४ अन्तर्गत पर्वत र बागलुङका साथै प्रदेश ५ स्थित गुल्मीका स्थानीय तहले संयुक्त रुपमा यस्तो आयोजना अगाडि बढाउन संघीय सरकारसँग माग गरेका हुन्।
कालीगण्डकी नदीमा बाँध निर्माण गरी जलाशययुक्त विद्युत परियोजना सञ्चालन भएमा यस क्षेत्रको विकास तथा राष्ट्रिय समृद्धि हुने भएकाले राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन स्थानीय तहले संयुक्त रुपमा माग गरेका छन्।
पर्वत जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिकाका साथै बिहादी गाउँपालिका, बागलुङका जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले सरकारसँग सो परियोजना सञ्चालनका लागि माग गरेका हुन्।
‘कालीगण्डकी नदीमा बाँध निर्माण गरी विद्युत् परियोजना सञ्चालन भएमा जल मार्ग, पर्यटन र रोजगारीको विकासमा सहयोग पुग्छ’, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले भने,‘यस्ता परियोजनाले राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुर्याउँछ।’
सो बहुद्देश्यीय परियोजना सञ्चालन भएमा ४ नम्बर र ५ नम्बर प्रदेशका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने भएकाले यस्तो अभियानमा लागेको बागलुङ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए।
विज्ञका रायका आधारमा यस्तो अभियान थालिएको र यो परियोजना सञ्चालन ल्याउन सकेमा १ हजार मेगावाट विद्युत् समेत उत्पादन हुने विज्ञहरुले सल्लाह दिएको फलेवास नगरपालिकाका प्रमुख शर्माले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।