ललितपुर- आर्थिक क्षेत्रमा ‘विद’ उपनामले परिचित सुजीव शाक्यको ‘अर्थात् अर्थतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
यसअघि अंग्रेजी भाषाका पाठकहरुको मात्र पहुँचमा रहेका सुजीवले शनिबार ललितपुरको हिमालय होटलमा आयोजित कार्यक्रममा नेपाली पाठकका लागि पुस्तक पस्किए।
मञ्चमा आफैं कार्यक्रम प्रस्तोताका रुपमा उभिएका उनले अर्थतन्त्रको गाँठोलाई रोचक रुपमा फुकाउँदै पुस्तकको नामकरणदेखि विविध सन्दर्भहरु भन्न भ्याए।
‘हाम्रा सबै कुराकानी जताबाट घुमेर गए पनि अन्तिममा टुंगिने त उही अर्थतन्त्रमै हो’, पुस्तकको नामको रहस्य खोल्दै उनले भने, ‘त्यसैले यसको नाम ‘अर्थात् अर्थतन्त्र’ राखेको हुँ।’
उनले आजको युगमा संसार कहाँ छ र हामी कहाँ छौं भन्ने चर्चा गर्दै पुस्तकले नेपाली समुन्नतिका आधारहरु पहिल्याउने काम गरेको बताए।
पुस्तकका भित्री तथ्य खोतल्ने क्रममा अर्थशास्त्रका विद्यार्थी सुजीवले नेपाली भाषासँग आफ्नो निकटताको कारण पनि खुलाए।
'कालिम्पोङमा स्कुल पढ्दा पारसमणि प्रधानको संगत पाएदेखि नेपाल आएपछि कामकै सिलसिलामा कमलमणि दीक्षितसम्मको सामीप्य पाएँ’, उनले सुनाए, ‘यसबाट आफूले जानेबुझेका कुरा नेपालीमा लेख्ने हुटहुटी पलाएको हो।’
सुजीवले यसअघि अंग्रेजीमा लेखेको ‘अनलिसिङ नेपाल’ पेन्गुइन बुक हाउसले प्रकाशित गरिसकेको छ। उनले 'अर्थात् अर्थतन्त्र' भने मैना धितालको सहयोगमा तयार पारेका हुन्।
सुजीवले दर्शकको ध्यान आफूमा केन्द्रित गर्न विभिन्न रोचक सन्दर्भ समेत प्रस्तुत गरेका थिए।
‘नेपालमा कार्टेलिङ र सिन्डिकेटबाट मुक्त एउटै मात्र व्यवसाय मःम पसल हो’, उनले भने, ‘हाम्रा सम्पूर्ण व्यापारहरु मःम पसल जस्तै प्रतिस्पर्धी र सेवामुखी हुनुपर्छ।’
आफूले मुलुकको उज्यालो भविष्य देखिरहेको भन्दै उनले त्यसैका बाटा र घुम्तीहरुलाई यो पुस्तकले प्रस्तुत गरेको बताए। कार्यक्रमको अन्त्यमा उनले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए।
पुस्तक पब्लिकेशन्स नेपालयले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।