वासिंटन- गतसाता अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सपथ ग्रहण कार्यक्रमको केही घण्टाअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्विटरमा एउटा भिडियो पोस्ट गरिन्। सो भिडियो ह्यारिसलाई यो स्थितिसम्म ल्याउनका लागि अद्वितीय भूमिका निर्वाह गर्ने उनकी आमा श्यामला गोपालनको सम्मानमा पोस्ट गरिएको थियो।
भिडियोमा कमलाले भनेकी छन्‚ ‘मेरो वर्तमानको सबैभन्दा ठूलो श्रेय लिने एकमात्र महिला हुन्- मेरी आमा श्यामला गोपालन।’
‘१९ वर्षको उमेरमा भारतबाट यहाँ (अमेरिका) आउँदा आज यो स्थिति आउला भनेर उहाँले शायदै कल्पना गर्नुभएको थियो होला‚’ भिडियोमा कमलाले भनेकी छन्‚ ‘तर आमालाई थाहा थियो‚ अमेरिकामा यस्तो अवसर पनि सम्भव छ।’
पहिलो अमेरिकी अश्वेत महिला र दक्षिण एसियाली-अमेरिकी मूलकी उपराष्ट्रपति कमला इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल भइन्।
यदि सन् १९५८ मा उनकी आमाले आफ्नो सपना पछ्याउँदै भारतदेखि अमेरिकासम्मको यात्रा तय नगरेको भए आज उनले चुमेको सफलताको शिखरका कथा यसरी नलेखिन सक्थे।
सरकारी कर्मचारी बुबा र गृहिणी आमाको कोखबाट जन्मिएका चार सन्तानमध्ये जेठी श्यामलाले बायोकेमेस्ट्री पढ्ने निधो गरेकी थिइन्।

तर दिल्लीको लेडी इर्वान कलेज फर वुमेनमा यस्ता किसिमका विषयहरू नपढाइने भएकाले उनले त्यहाँबाट गृह विज्ञान विषयमा मास्टर डिग्रीको उपाधी प्राप्त गरिन्‚ जहाँ उनले पोषणसँग सम्बन्धित विभिन्न सीपहरूको बारेमा पढ्नुपर्थ्यो।
‘यो कुरालाई लिएर बुबा र मैले सधैँ उहाँलाई जिस्क्याउने गर्थ्यौँ‚’ श्यामलाका भाइ गोपालन बालागन्द्रनले बिबिसीसँग भने।
‘कलेजमा शिक्षकहरूले तपाईंलाई के सिकाउँछन्? टेबुल कसरी राख्ने? चम्चा कस्तो ठाउँमा राख्ने भनेर सिकाउँछन्?- भन्दै ठट्ट्यौली शैलीमा सोध्ने गर्थ्यौं। दिदी हामीसँग जोडले रिसाउनुहुन्थ्यो‚’ युवावस्थाका आफ्ना क्रियाकलापहरू सम्झँदै उनले भने।
‘कक्षामा जम्मा ४० जना विद्यार्थी थियौं। केटा विद्यार्थी र केटी विद्यार्थी छुट्टाछुट्टै बस्ने व्यवस्था थियो। कहिलेकाहीँ कक्षामा लैंगिक विषयमा बहस चल्ने गर्थ्यो‚’ श्यामलाका कलेजका एक सहपाठीले सुनाए‚ ‘त्यस्तो बहसमा उनी नलजाईकन केटाहरूसँग आफ्ना व्यक्तिगत विचार राख्ने गर्थिन्। उनी अरूभन्दा फरक र साहसी थिइन्।’
‘उनी पढ्ने विश्वविद्यालयमा कसरी विवाहयोग्य र असल गृहिणी बन्ने भन्ने विषयमा पढाइ हुन्छ भन्ने हल्ला थियो‚’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा थ्यौरिटिकल फिजिक्स विषयका (हाल अवकाशप्राप्त) प्राध्यापक आर राजारमनले भने‚ ‘जस्तो कुरालाई पनि नलजाई सबैका अगाडि राख्न सक्ने आँटिली युवती कसरी त्यस्तो विश्वविद्यालयमा पुगिन् भन्ने विषय चाहीँ अझै रहस्यमयजस्तै छ।’
श्यामलाभित्र एउटा अर्को उद्देश्य पनि थियो‚ जसले उनलाई अमेरिका पुर्यायो।
उनले अमेरिकाको बर्कलीमा अवस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा पढ्नका लागि आवेदन दिइन्‚ जहाँबाट उनको जिन्दगीको अर्को पाटो सुरू भयो।
‘यो उनी एक्लैले लिएको निर्णय थियो। घरका कसैलाई पनि यसको बारेमा थाहा थिएन‚’ उनका भाइले भने‚ ‘उनी विदेश जाने कुरामा बुबाको असहमति भने थिएन। तर अमेरिकामा श्यामलालाई ख्याल गर्ने आफूले चिनेको कोही नभएकाले उहाँ चिन्तित हुनुुहुन्थ्यो। बुबाले शिक्षाको महत्व बुझेकाले बुबाले दिदीलाई अमेरिका जान कुनै रोकटोक गर्नुभएन।’
त्यसपछि श्यामलाले १९ वर्षको उमेरमा जिवनमा कहिले नपुगेको अमेरिकाको यात्रा तय गरिन्। आफ्नी आमा श्यामलाको संघर्षको बारेमा सन् २०१९ मा लेखिएको संस्मरण ‘द ट्रुथ वी होल्ड’मा कमलाले लेखेकी छन्‚ ‘उहाँका अभिभावकले अर्काको देशमा जानका लागि कसरी आमालाई छाडिदिनुभयो होला?’
जब श्यामला अमेरिका पुगिन्‚ बर्कलीमा मानव अधिकार आन्दोलन चर्केको थियो। रंगभेदविरूद्धमा प्रदर्शन चर्किरहँदा श्यामला पनि आन्दोलनको एक हिस्सा बन्न पुगिन्। त्यो समयमा भारतबाट अमेरिका आएर मानव अधिकारको पक्षमा त्यसरी लाग्नु एक असामान्य विषय थियो।
पछि सन् १९६२ मा जमैकाबाट अर्थशास्त्र विषय पढ्न आएका डोनाल्ड ह्यारिस र श्यामलाको प्रेम सम्बन्ध सुरू भयो।
‘मानव अधिकारको पक्षमा गरिएको प्रदर्शनमा सँगै मार्चिङ गरिरहेका बेला उहाँहरू प्रेममा पर्नुभयो‚’ कमलाले उक्त संस्मरणमा लेखेकी छन्।
श्यामला र डोनाल्डको प्रेम सम्बन्ध सन् १९६३ मा विवाहमा टुंगियो। विवाहको केही वर्षपछि कमलाको जन्म भयो।
आमा श्यामला गोपालनसँग कमला ह्यारिस।‘उहाँले हामीलाई विवाहको बारेमा केही पनि भन्नुभएको थिएन। यद्यपि दिदीले गरेको विवाहप्रति आमा-बुबाको नकारात्मक धारणा थिएन तर उहाँहरूको सबैभन्दा ठूलो चित्त दुखाइको विषय भनेकै बेहुलोलाई हेर्न पाइएन भन्ने थियो‚’ बालाचन्द्रनले भने।
विवाहको ३ वर्षपछि सन् १९६६ मा पहिलोपटक श्यामलाका अभिभावकले आफ्नो ज्वाइँ देखेका थिए।
तर विवाह भने धेरै समय टिक्न सकेन। कमला ५ वर्षको हुँदा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि कमला र उनकी बहिनी मायालाई श्यामलाले एक्लै हुर्काइन्।
बच्चामा कमला ह्यारिस‚ आमा श्यामला गोपालन र बहिनी माया ह्यारिससँग।गतवर्ष उपराष्ट्रपति पदमा उम्मेदवारी दिएपछि कमलाले एक्लो अभिभावकको रूपमा आफ्नी आमाको जिवन कष्टकर रहेको बताएकी थिइन्।
कोलोन क्यान्सरसँग जुधिरहेकी श्यामलाको सन् २००९ मा ७० वर्षको उमेरमा निधन भयो। उनलाई स्तन क्यान्सरमा हर्मोनको भूमिकाको खोज गर्ने महिलाको रूपमा समेत चिनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।