काठमाडौं- राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक सञ्चालकहरुले बढी नाफा कमाउन चाहने हो भने व्यक्तिगत व्यवसाय चलाउनु उपयुक्त हुने सुझाव दिएका छन्।
मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्जर हुने कार्यक्रमको उद्घाटन गर्दै गभर्नर डा नेपालले बैंक तथा वित्तीय संस्था गैरनाफामुखी संस्था रहेको बताउँदै नाफा चाहिने भए वैकल्पिक व्यवसाय सोच्नुपर्ने बताए।
उनले भने, ‘बैंक तथा वित्तीय संस्था भनेको जनताको पैसालाई जिम्मेवारीपूर्वक लगानी गर्न स्थापना भएको संस्था हो। यसमा नाफाभन्दा सेवाको भावना बढी हुन आवश्यक छ।’
डा नेपालले बैंकमा भित्रिएको पैसा सबै आफ्नै हो भन्ने सोच्ने प्रवृत्ति बैंक तथा वित्तीय संस्था सञ्चालकहरुमा रहेको बताए।
‘बैंक तथा वित्तीय संस्थामा निक्षेपमा संकलन गरेको पैसा सबै मेरो हो भन्ने सोच्ने र छोटो समयमा धेरै नाफा कमाउन चाहनुहुन्छ भने व्यक्तिगत व्यवसाय गर्नुहोस्। बैंक तथा वित्तीय क्षेत्रमा यो छुट छैन’, उनले भने।
उनले बैंक तथा वित्तीय क्षेत्रमा भएको अनियमिततालाई राष्ट्र बैंकले नजिकबाट नियालेको बताए। उनले अनियमितता अन्त्य गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक कारबाही गर्न तयार रहेको समेत बताए।
कमसल रुपमा कर्जा नदिनुस्
गभर्नर नेपालले बैंक सञ्चालकको दबावमा परेर कमसल रुपमा धितो प्रवाह नगर्न आग्रह गरेका छन्।
मेगा बैंकको नवनियुक्त सिइओ अनुपमा खुञ्जेलीतर्फ इंगित गर्दै उनले भने, ‘बैंक सञ्चालकको दबावमा परेर कमसल रुपमा धितो प्रवाह नगर्नुहोस्। त्यसको दबावको सामना गर्न तपाईंसँगै राष्ट्र बैंक सधैं साथमा हुन्छ।'
मेगा बन्यो चुक्ता पुँजीको आधारमा तेस्रो ठूलो वाणिज्य बैंक
सिइओ खुञ्जेलीले मेगा बैंक र टुरिजम बैंक एक आपसमा मर्जर भएपछि वाणिज्य बैंकहरुमा चुक्ता पुँजीको आधारमा तेस्रो ठूलो बैंक बनेको बताएकी छिन्। दुई बैंकको एकीकृत कारोबारको सुरुवातको अवसरमा बोल्दै खुञ्जेलीले बैंकको निक्षेप संकलन ५७ अर्ब ५५ करोड रुपैयाँ र कर्जा प्रवाह ५५ अर्ब ७० करोड रुपैयाँ पुगेको बताइन्।
खुञ्जेलीले बैंकले शाखा विस्तार गरेर मात्रै प्रभावकारी काम नगर्ने बताउँदै मेगा बैंकले शाखारहित बैंकिङ सेवालाई प्राथमिकतामा राखेको बताइन्। मेगाले हाल ५८ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको उनले जानकारी दिइन्। निकट भविष्यमै यो संख्या १ सय १९ पुग्ने उनले उल्लेख गरिन्।
एकीकृत कारोबारपछि बैंकको शाखा संख्या ९१ पुग्नेछ भने ग्राहक संख्या करिब ५ लाख पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।