काठमाडौं- हातमा बन्दुक बोकेका दुई जनाले एक अधवैँशे मान्छेलाई घच्याउँदै ल्याए। त्यो मान्छेले कालो भादगाउँले टोपी लगाएको थियो। सेतो भोटो र फिक्का पहेंलो रंगको धोतीले लाज ढाकेको थियो। कालो जुँगाले ओठमुनि ठाउँ ओगटेको त्यो मान्छेको अनुहारमा अनगिन्ती प्रश्नहरु देख्न सकिन्थ्यो।
एकैछिनमा उसले मनको कुरा ओकल्न थाल्यो। आफू मर्नका लागि तयार बनिरहेको बताउँदा ऊ चिच्यायो, करायो। अन्त्यमा खरिबोटमा लगाइएको पासोमा टाउको छिरायो र प्राण त्याग्यो।
वि.सं. १९९७ साल माघ १० गते टेकुस्थित खरीबोटको दृष्य २०७७ साल माघ १६ गते पनि दोहोरियो। फरक छ त केवल समय र परिस्थिति। त्यो समयमा खरीको बोट सुनसान थियो, अहिले हजारौंका आँखाले चियाइरहेका थिए। त्यो वास्तविकता थियो, यो सहिदको सम्झना गर्दै देखाइएको नाटक।

शिल्पी थियटरका कालाकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा उनलाई झुन्ड्याइएको रुखमुनी नाटक मञ्चन गरे। सहिद शुक्रराजको भूमिकामा नाट्य लेखक तथा निर्देशक घिमिरे युवराजले नै अभिनय गरेका थिए।
प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलनमा देखाइएको सडक नाटक हेर्न विभिन्न क्षेत्रका अभियान्ताहरु पुगेका थिए। सहिद शुक्रराजले हतियारभन्दा कलम चलाएर आन्दोलन गरेको भन्दै कलमधारी आन्दोलनकर्ताले उनको सम्झना गरे।

नागरिक आन्दोलनका अगुवाइ गरिरहेका नारायण वाग्ले, साहित्यकार नारायण ढकाललगायत नेपाल भाषाका साहित्यकार र कलाकारको बाग्लो उपस्थिति थियो।
सास फेरिरहेका लाशहरू
सहिद शुक्रराजको सम्झनामा मौनधारण गरियो। उठेर टाउको झुकाएर होइन, सडकमा सुतेर आँखा चिम्लेर उपस्थित सबैले मौनधारण गरे।

यसलाई आन्दोलनका आयोजकले सांकेतिक रुपमा शुक्रराजलाई साथ दिएको र सरकारको विरोध गरेको बताए। करिब एक मिनेटसम्म आन्दोलनकर्ताहरू खरिबोटको सडकमा लम्पसार परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।