काठमाडौं- ‘के माया लाग्छ र?’ आजभन्दा ६ महिनाअघि धेरैले गायिका एलिना चौहानलाई सोध्ने प्रश्न हो यो। कतिले चिनेरै के माया लाग्छ र भन्थे, कतिले नचिनेर। एलिनाले सम्झँदै भनिन्, एकचोटी बाटोमा हिँडिरहेकी थिएँ। मेरो छेउबाट गएको मान्छेले अलि पर पुगेपछि ठूलो स्वरमा चिच्याउँदै के माया लाग्छ र भन्यो। मैले पुलुक्क फर्केर हेरें अनि त्यो मान्छे हाँस्दै गयो।
६ महिनाअघि र अहिलेको अवस्था फेरिइसकेको छ। के माया लाग्छ र बोलको गीतमा स्वर मिसाएपछि उनी निकै व्यस्त बनिन्।
अहिले उनलाई जिस्काउन ‘के माया लाग्छ र’ मात्रै होइन, मिनरल वाटर, कुरा काट्ने मान्छेले काटुन्, कैले माया देखायौलगायत दर्जनौं गीत छन्। उनले कोभिड-१९ को महामारी भोगिरहेको बेलामै पनि करिब ६० वटा गीत रेकर्ड गराइन्।
झापा विर्तामोडमा जन्मिएकी एलिनाले आफैँलाई व्यंग्य गर्दै भनिन्, ‘म त अझैपनि भाइरल गायिका र कभर गायिकामै छु। मानिसको नजरमा गायिकामात्रै हुन त अझै बाँकी नै छ। तुरुन्तै चित्त दुखाउँदै उनले भनिन्, ‘मेरो गीत पो भाइरल भएको हो त, म नै भाइरल भएकी त हैन नि।’
चर्चा कमाउनभन्दा कायम राख्न गाह्रो
गायिका एलिनालाई चर्चा कमाउनभन्दा यसलाई कायम राख्न गाह्रो लाग्ने बताइन्। भनिन्, ‘आफू चर्चामा नआउँदा त्यति प्रेसरको अनुभूति भएन, जति अहिले छ। केको प्रेसर छ र भन्ने जिज्ञासामा उनले भनिन्, ‘पहिले चर्चित नहुँदा गीत चलेपनि नचलेपनि वास्ता हुँदैनथ्यो, अहिले गीत चलेन भने टेन्सन हुन्छ‚’ थप जोड दिँदै एलिनाले भनिन्, ‘पहिलेको लेवलमा गीतले चर्चा पाउन सकेन भने आफू ओझेलमा पर्ने डर हुन्छ। लामो सुस्केरा तान्दै भनिन्, यहाँ त चर्चा कमाउनभन्दा सधैं चर्चामा रहिरहन गाह्रो रहेछ।
हुन पनि उनको सांगीतिक यात्रामा उनले चर्चा पाएर फेरि हराउँदाको अनुभव संगालिसकिन्।
नचलेको गीत ‘तिम्रो मायाले बाँधेर राख’मा एलिनाले कभर बनाइन्। त्यो कभर गीतमा उनको स्वर सुनेर त्यसलाई सबैले मन पराए। लामो समयसम्म युट्युबको ट्रेन्डिङमा बस्न पनि सफल भयो त्यो गीत।
जब चर्चा कमायो, गीतका मालिकले स्वामित्व खोजे। सुरुमा अनुमति लिएरै गीत गाएको भएपनि उनलाई गीतका साहुले मेरो गीतको पछि नलाग भने। उनको स्वरमा रहेको त्यो गीत युट्युबबाट हटाइयो पनि‚’ त्यो क्षण सम्झँदै एलिनाले भनिन्, ‘अर्काको घरमा भाडा बसेजस्तो हुने रहेछ कभर गीत त। त्यही भएर अफिसियल गीत गाउन थालें। आफ्नै घरमा भएपछि घरबेटीले निकालिदेलान् भन्ने डर हुँदैन, ढुक्कसँग बस्न पाइन्छ।’

कभर गीत हिट भएपछि उनले केही अफिसियल गीतमा गाउने मौका पाइन्‚ इन्स्टाको फोटो। गीत निकै चर्चित बन्यो। तर यसमा कपीको आरोप लाग्यो। त्यो गीत पनि युट्युबबाट हट्यो।
इन्स्टाको फोटोपछि उनले अन्य केही गीत पनि गाइन् तर ती चलेनन्। उनी फेरि हराइन्।
झापाको एक विद्यालयमा पढाउँदै र पढ्दै थिइन् उनी। भाइरल हुनेबित्तिकै स्कुलमै अन्तवार्ता लिन पुगेका अन्तवार्ताकारहरुले गर्दा उनले विद्यालयको जागिरबाट हात धुनुपर्यो। अन्त्यमा जागिर पनि गयो, गीत पनि हिट भएन, दर्शकले उनलाई भुले।
उच्च माध्यामिक तहमा विज्ञान विषय पढेपनि संगीतमा समय दिन नसकिएला भनेर उनले स्नातक तहमा मानविकी संकायमा अंग्रेजी विषय लिएर पढेकी थिइन्‚ जसले गर्दा घरमा समेत तारो बनेकी थिइन्।
उनको घरपरिवारमा संगीतमा लागेका कोही थिएनन्। आमाले बेलाबखत् भजन गुनगुनाएपनि छोरीले पुरै जिन्दगी संगीतमा लागेर बिताओस् भन्ने चाहना उनको परिवारको थिएन। त्यही कारण नै उनले संगीतको खर्च जुटाउन पढाउने काम गरेकी थिइन्।
उनलाई पहिलोे गाँसमा मात्रै होइन, दोस्रो गाँसमा पनि ढुंगा लाग्यो। चारैतिरबाट हात लाग्यो शून्यको अवस्थामा पुगिन्.एलिना।
लामो समयसम्म के गर्ने के नगर्नेको अन्यौलमा उनलाई फेरि उद्दार गर्यो टिकटकले। खाली समयमा टिकटकमा गीत गाउँदै अपलोड गर्दै गर्न थालिन्। यसले उनलाई भुलेका दर्शकको दिमागलाई पुनर्ताजगी गराइदियो।
टिकटककै कारण उनले लामो समयको अन्तरालमा गीत पाइन्, के माया लाग्छ र!
यसले उनको चर्चा फेरि एकाएक चुलीमा पुर्याइदियो। यही गीत गाएपछि उनले ७ महिनाको अवधिमा झण्डै ७० ओटा गीतमा आवाज दिइसकिन्। उनले गाएका गीतहरू कति सार्वजनिक भए, कति सार्वजनिक हुने क्रममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।