काठमाडौं- बैंक सञ्चालक समितिसँग जति धेरै झगडा गर्न सक्यो त्यति नै बैंक प्रमुख कार्यकारी अधिकृत(सिइओ) को सक्षमता झल्कने योजना आयोगका उपाध्यक्ष तथा टुरिजम बैंकका निवर्तमान अध्यक्ष प्रा डा पुष्पराज कँडेलले बताएका छन्।
मेगा बैंक र टुरिजम बैंकको एकीकृत कारोबारको उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष खनालले बैंक सञ्चालक बोर्डबाट सिइओलाई अनावश्यक दबाव आउने बताए। उनले भने, ‘बैंकको बोर्डबाट सिइओलाई कमचारी भर्नादेखि ऋणका कुरासम्ममा अनावश्यक दबाव आउने गर्छ। त्यो सबै कुराको प्रतिकार गर्न सिइओले बोर्डसँग झगडा गर्नुपर्ने हुँदा जति प्रतिकारात्मक झगडा गर्न सक्यो सिइओ त्यति सक्षम हुन्छन्।'
लामो समयको प्रयासपछि मेगा बैंक र टुरिजम बैंक मर्जर भएर आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन्।
बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुन्जेलीले दुई साताभित्र दुई बैंकको सेयर कारोबार संचालनमा आउने बताइन्।
यता दुई बैंक मर्जर समन्वय समितिका अध्यक्ष गोपाल खनालले विभिन्न अवरोधका बीच मर्जर सम्झौता भएको करिब १६ महिनापछि एकीकृत कारोबार भएको बताए। दुई बैंकबीच २०७३ माघमा मर्जरमा जाने सम्झौता भएको उनले जानकारी दिए।
खनालले भने, ‘नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बैसाख ९ गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट बैसाख १२ गते दुई बैंकलाई एक आपसमा गाभिएर एकीकृत कारोबार सुरुवात गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो।’
मेगा बैंक र टुरिजम बैंक मर्जर भएपछि वाणिज्य बैंकहरुमा चुक्ता पुँजीको आधारमा तेस्रो ठूलो बैंक बनेको छ। बैंकको निक्षेप संकलन ५७ अर्ब ५५ करोड रुपैयाँ र कर्जा प्रवाह ५५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
एकीकृत कारोबारपछि बैंकको शाखा संख्या ९१ पुग्नेछ भने ग्राहक संख्या करिब ५ लाख पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।