काठमाडौं- किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गतेदेखि सुरु भएको ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ। ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणा र अन्य विशेष प्रस्तुतिका साथ माघ २३ गते ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए।
कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत प्रशारण गरिएको फेस्टिभल डाइरेक्टरसमेत रहेका अधिकारीले बताए। ‘यस वर्ष हामीले एपिवान टेलिभिजन र किताब यात्रा एपसँग सहकार्य गरेर किताब जात्रा गर्यौँ। त्यसका साथै किताब जात्राको अफिसियल युट्युब च्यानलमा जहिले पनि किताब जात्रा हेर्न सकिन्छ,' उनले भने।
किताब जात्रामा यस वर्षको ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ। बुईपा– ६, खोटाङका ७५ वर्षीय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकौँ आयाम प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै प्रेम साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जानकारी दिएको छ। किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य) र ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर ५५ हजार ५ सय ५५ रूपैयाँ, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए। उक्त सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ।
सम्मानपछि बोल्दै किराँतीले आफूले कविता लेख्दा कहिल्यै पनि सम्मान वा पुरस्कारबारे नसोचेको बताए। उनले आफ्नो विगत सम्झँदै भने, ‘मैले पढ्न पाएको पनि होइन र लेख्छु भन्ने लागेको पनि थिएन। गाउँमै बसेर स्वअध्ययन गर्दै कविता लेख्न थालियो। राम्रो लेखियो कि लेखिएन भन्ने पनि सोच्दै नसोची लेखियो। यो सम्मान पाउँदा राम्रै लेखिएछ कि भन्ने लागिरहेको छ।’ सम्मानको संस्कृतिले नयाँ र पुराना पुस्ताबीच निरन्तर सम्बन्ध बनिरहने उनले बताए।
त्यस्तै, यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ। अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्राले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सिइओ विकेश भट्टराईले जानकारी दिए।

विशेष अवार्डसहित सम्मानित भएका विजयकुमारले भने, ‘कुनै कृति बिक्री हुँदैमा उत्कृष्ट हुने र बिक्री नहुँदैमा नराम्रो हुने होइन। तर, कुनै पुस्तक धेरै पाठकले पढ्छन् भने त्यसको गुणवत्ताको राम्रो मूल्यांकन हुन्छ। यस्ता अवार्डले त्यसको परख गर्न सघाउ पुर्याउँछ।’ पाठकले मन पराएको कृतिलाई विशिष्ट पहिचान दिन यस्ता अवार्डले भूमिका खेल्ने उनको भनाइ थियो।
फाउन्डेसनका अध्यक्ष अधिकारी र लेखक बुद्धिसागरले अवार्ड उनलाई प्रदान गरेका थिए। जात्राको सन्दर्भमा किताब यात्रा डटकमले विशेष छुटसहित किताब खरिद गर्न पनि सकिने गरी ‘किताब यात्राको किताब जात्रा अफर’ सञ्चालन गरेको किताब यात्राका निर्देशक कृपेशकिशोर घिमिरेले बताए।
जात्रामा सात विमर्श सत्र सञ्चालन भएको थियो। पहिलो सत्रमा ‘कहाँ छौं हामी?’ शीर्षकमा भूषिता वशिष्ठको सहजीकरणमा लेखक डा. सञ्जीव कुमार उप्रेती, बुद्धिसागर र दुर्गा कार्कीले बहस गरेका थिए। दोस्रो सत्रको बहस ‘शब्द पछ्याउँदै जाँदा’ शीर्षकमा महिला लेखकहरू माया ठकुरी, भुवन ढुङ्गाना र भागिरथी श्रेष्ठ सहभागी थिए। कवि शकुन्तला जोशीले बहस सहजीकरण गरेकी थिइन्।
तेस्रो सेसनमा ‘पर्दाभित्र, पर्दाबाहिर’ शीर्षकमा निर्देशक प्रकाश सायमीको सहजीकरणमा नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरले आफ्नो पठन अनुभूति सार्वजनिक गरेका थिए। सेसनअघि बलिउड कलाकार सोनु सूद मन्तव्य प्रशारण गरिएको थियो।
‘अँध्यारोबाट उज्यालोतिर’ शीर्षक रहेको सेसनमा डा. सन्दुक रुइत, महावीर पुन र कुलमान घिसिङले टीकाराम यात्रीको सहजीकरणमा बहस गरेका थिए।
अनुसन्धाता तथा राई भाषाका लेखक कैलाश राईको सहजीकरणमा ‘मातृभाषाको लय’ शीर्षकको बहस मैथिली भाषाका लेखक रमेश रञ्जन झा, थारू भाषाका लेखक डा. कृष्णराज सर्वहारी र नेपाल भाषाका लेखक सुलोचना मानन्धर सहभागितामा भएको थियो।
‘यो कर्मभूमिको आँगनमा’ शीर्षकको सेसनमा चौधरी ग्रुपका मेनेजिङ डाइरेक्टर निर्वाण चौधरी, वर्ल्डलिंक कम्युनिकेसनका अध्यक्ष दिलीप अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले सञ्चारकर्मी समा थापाको सहजीकरणमा बहस गरेका थिए। अन्तिम सेसन ‘महको अक्षरयात्रा’मा मह जोडी र कलाकार मनोज गजुरेलबीच अन्तरक्रिया भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामनाबाट सुरु भएको ‘किताब जात्रा’मा ‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको विशेष प्रस्तुति ‘स्याडोज अफ नगरकोटी’बाट जात्राको अन्त्य भएको थियो।
कोरोना सन्त्रासका कारण यस वर्ष मास मिडिया र भर्चुअल मिडियामार्फतमात्रै ‘किताब जात्रा’ गरिए पनि अर्को वर्ष भौतिक भेटघाटसहितको कार्यक्रम गर्न सकिने आशा रहेको फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए। यस वर्षको किताब जात्राको टाइटल नबिल बैंक लिमिटेडले स्पोन्सर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।