रसुवा– चीनको केरुङमा कन्टेनरहरु पार्किङ गर्ने ठाउँमा पार्किङ शुल्क बढाइएपछि नेपाली व्यापारीहरु समस्यामा परेका छन्।
चिनियाँ पक्षले पार्किङस्थल विस्तार गर्दै पार्किङ शुल्क बढाएपछि व्यापारीहरु मर्कामा परेका हुन्। यसअघि दुई वटा पार्किङस्थल रहेकोमा अहिले एउटा थपेसँगै सबै पार्किङस्थलमा शुल्क तिर्नुपर्दा आफूहरु मारमा परेको व्यापारी पुरुषोत्तम पौडेलले बताए।
'पहिले चिनियाँ भन्सार अगाडि रहेको पार्किङस्थलमा गाडी राख्थ्यौं। अहिले फेरि एउटा नयाँ थपेर तीन वटैमा पार्किङ गर्नुपर्ने भनिएको छ’, उनले भने, ‘यसले गर्दा हामी मर्कामा परेका छौं।’
तीन वटा पार्किङ परिवर्तन गरेर गाडी लोड भइसकेपछि सिल लगाउँदा चार सयदेखि पाँच सय आरएमबी शुल्क तिर्नुपर्ने व्यापारी पौडेलले बताए।
यसअघि पार्किङ स्थलमा कन्टेनर जतिसुकै दिन राखे पनि १ सय आरएमबी शुल्क तिर्नुपर्ने भए पनि अहिले दैनिक थप ५० आरएमबी तिर्नुपरेको सवारी चालक डोलप्रसाद आचार्यले बताए।
सामान लिन केरुङ पुगेका कन्टेनरले तीन वटै पार्किङमा शुल्क बुझाउनुपर्ने भएपछि छिटोभन्दा छिटो सामान लोड गरी कन्टेनरहरु नेपालतर्फ फर्किने गरेको बताइएको छ। पार्किङ शुल्क वापत दैनिक ५० आरएमबी र सिल लगाएको १ सय आरएमबी शुल्क तिर्नुपर्ने हुन्छ। यसअघि गाडी पार्किङ गर्दा करिब दुई सय ५० आरएमबी तिर्दै आएका थिए। रेडिमेट सामग्री आयात गर्दा थोरै समय बस्नुपर्ने र स्याउ आयात गर्दा ६ दिनदेखि नौ दिनसम्म बस्नुपर्ने नेपाली चालकहरु बताउँछन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले पार्किङ शुल्कमा गरेको वृद्धिको एजेन्डा चिनियाँ पक्षसँगको आगामी बैठकमा प्रस्तुत गरिने बताए।
उनले भने, 'केरुङमा रहेका व्यापारी र कन्टेनर चालकले समस्याबारे हामीलाई जानाकारी गराइसकेका छन्, चिनियाँ पक्षसँग अब हुने बैठकमा यस विषयमा कुराकानी गर्छौं।'
रसुवागढी नाकाबाट २४ किलोमिटर दूरीमा रहेको चीनको केरुङबाट रेडिमेड लुगा, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।
चीनले रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।