तीन वर्ष पहिले एमाले र माओवादी केन्द्रबीच गरिएको एकता केपी शर्मा ओली प्रधानमन्त्री बन्नका लागि मात्र रहेछ भन्ने घटनाक्रमले पुष्टि गरिसकेका छन्। प्रतिनिधि सभा विघटनबाट पनि केपी ओलीले के गर्न चाहेको भन्ने कुरा विस्तारै खुल्दै गइरहेका छन्।
उहाँले कारवाही गर्दै हुनुहुन्छ। अझै धेरैलाई कारवाही गर्दै जानुहुन्छ। अब त जिल्ला जिल्ला तहमा कारवाही सुरु भइसकेको छ। हामी यस्ता कुराबाट सचेत छौं। उहाँले के के गर्नुहुन्छ भन्ने कुरामा हामी पहिलेभन्दा झन् बढी जानकार र सचेत भएका छौं। हामीे नेकपा एमालेलाई पुर्नगठित गर्न, सुदृढ गर्र्न, रुपान्तरण गर्न देशव्यापी अभियानमा लागि पर्ने छौं। अहिले त्यसमै लागिपरेका पनि छौं। काठमाडौंमा चैत पहिलो साता हामीले गरेको राष्ट्रिय कार्यकर्ता भेलाले यसबारे स्पष्ट निर्णय गरिसकेको छ। यो कुरा हामीले कार्यकर्ता भेलामा नै स्पष्ट गरिसकेका छौं।
सोहीअनुसार अखिल नेपाल महिला संघ, युवा संघ र अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला भएर छुट्टै केन्द्रीय कमिटी गठन भइसकेको छ। जिल्ला जिल्लामा समानान्तर कमिटीहरु गठन हुँदैछन्, यसबारे त सबैलाई जानकारी नै छ। हामीले राष्ट्रिय कार्यकर्ता भेलादेखि देशव्यापी रुपमा नै एमालेलाई पुनर्गठित, रुपान्तरित र सुदृढ गर्ने अभियान अघि बढाएका छौं। अर्थात् के गर्ने भन्नेमा हामी प्रष्ट छौं, कुनै अलमलमा छैनौं।
एमाले फुटेको छैन, तर ओलीमा निर्भर छ
औपचारिक रुपमा एमाले फुटेको छैन। यो अहिलेको यथार्थ हो। एमालेको संसदीय दल पनि एकै ठाउँमा छ। तर, पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग अलग ढंगले गतिविधि अगाडि बढिरहेका छन्। र, अहिले नै एमाले फुटिसक्यो भनेर निष्कर्ष निकाल्ने अवस्था भएको छैन। भविष्यमा के हुन्छ भन्ने त हामीलाई पनि थाहा छैन। किनभने त्यो केपी ओलीजीको क्रियाकलापमा भर पर्छ। उहाँले एमाले पार्टी विभाजन गर्न चाहन्छु भन्ने त प्रष्ट रुपमा देखाइ सक्नुभएको छ। आगामी दिनमा उहाँ कसरी अगाडि बढ्नुहुन्छ, त्यो आधारमा धेरै कुरा निर्धारण हुनेछन्। कमरेड केपी ओलीका क्रियाकलापका आधारमा एमाले एकतावद्ध भएर जान्छ वा विभाजित हुन्छ भन्ने कुरा प्रष्ट हुनेछ।
पहिलो कुरा केपी ओलीजी पार्टी विधानभन्दा बाहिर रहेर काम गर्दै हुनुहुन्छ। एमालेको नवौं महाधिवेशनबाट पारित जुन विधान छ, उहाँ त्यो विधानभन्दा पृथक ढंगले अगाडि बढ्नु भएको छ। उहाँले चलाइरहेको जुन एमाले भन्ने पार्टी छ, त्यो आफैमा अवैधानिक पार्टी हो। पार्टी विधानसँग त्यसको कुनै साइनो र सम्बन्ध छैन। पार्टी विधान नै तोडमोड गरेर अगाडि बढेका केपी ओलीले जे निर्णय गर्नुहुन्छ, त्यो कुरा हामी मान्दैनौं। हामीलाई त्यस्ता निर्णय मान्नुपर्ने बाध्यता नै छैन। जति जनालाई उहाँले कारवाहीको निर्णय गरे पनि हामी त्यसलाई कारवाही गरेको रुपमा बुझ्दैनौं। उहाँले गरेको भनेका कारवाही एमालेको विधानले चिन्दैन। त्यसकारण यस्ता कारवाहीलाई हामी पूर्ण रुपमा अस्वीकार गर्दछौं। हाम्रा सैद्धान्तिक, वैचारिक र सांगठनिक काम वेरोकतोक अगाडि बढ्छन्।


केपी गुटभित्रको झिनो आशा
एमालेमा तानातान कहिलेसम्म जान्छ भनेर अहिल्यै भन्न सकिन्न। यो सबै केपी ओलीमै भर पर्छ। उहाँ अध्यक्ष हो भने यसको जिम्मेवार उहाँ नै हुनुहुन्छ। उहाँको उद्देश्य चाहिँ एमालेलाई टुक्रा टुक्रा पारेर जान खोजेको देखिन्छ। मिलाएर जान चाहेको हो भन्ने त घटनाक्रमबाट कतै पनि देखिँदैन। अहिलेसम्म उहाँका गतिविधि र घटनाक्रमले एमालेलाई टुक्राटुक्रा पार्न चाहेकै देखाउँछन्। उहाँ एमालेको सानो हिस्सा वा गुट बोकेर मनपरी गर्दै हिँड्न चाहनुहुन्छ भन्ने कुरा घटनाक्रम र तथ्यहरुले नै पुष्टि गरिसकेका छन्। त्यो कुरा हामीले मात्र भनेको होइन, दुनियाँले नै देखिसक्यो।
अहिले केपी ओलीमात्र होइन, उहाँको समूहभित्र सकारात्मक ढंगले सोच्ने तमाम असल र इमान्दार नेता र कार्यकर्ता पनि हुनुहुन्छ। सम्भवतः त्यो पंक्तिले एमालेलाई फुटबाट जोगाउनका लागि केपी ओलीलाई अझैं पनि सम्झाई बुझाई गरेर केही गर्न सक्नुहुन्छ। किनभने हाम्रो दबाबबाट केपी ओलीजी मान्ने सम्भावना देखिँदैन। त्यहीँभित्रबाट प्रयास भयो भने झिनो सम्भावना भए पनि बाँकी रहन्छ।
एमाले पूर्ववत अवस्थामा नपुगेर हुँदैन। अहिले अन्तरसंघर्ष गर्ने भनेको एमालेलाई पूर्ववत अवस्थामा फर्काउने कुरा हो। एमालेलाई पूर्ववत अवस्थामा नफर्काएसम्म अन्तरसंघर्ष गर्ने स्थिति नैछैन। त्यहीकारण हामी फरक ढंगले संगठनमा कमिटीहरु निर्माण गर्दै, आफ्ना विचारहरुलाई अगाडि अढाउने योजनामा लागेका छौं। तर, हामी तत्काल अर्को पार्टी घोषणा गरेर जाने अवस्थामा छैनाैं। हामी राजनीतिक पार्टी हौं, राजनीतिक व्यक्ति हौं।
नेपालका तमाम वामपन्थी, देशभक्त र प्रजातन्त्रवादीहरुसँग भेटघाट र छलफल भइरहन्छन्। यस्ता भेटघाट र छलफल कसैले रोक्न सक्दैन। हामीले प्रचण्ड कमरेडसँग मात्र होइन, तमाम पार्टीका नेताहरुसँग भेटघाट गरिरहेका छौं। यो क्रम चलिरहन्छ। हामीले यो लोकतन्त्र बचाउन, मुलुकको स्वाधीनता र सार्वभौमिकता बचाउनका लागि गरेको हो। यो नेपालको कम्युनिस्ट आन्दो्लनलाई नयाँ उचाईमा एकतावद्ध बनाएर लैजाने पहल पनि हो। त्यसको लागि तत्काल हामी एमालेलाई पुर्नगठित गर्ने काम गर्छौं।
(एमाले स्थायी कमिटी सदस्य ज्ञवालीसँग वीरेन्द्र ओलीले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।