काठमाडौं– नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर चयन भएका छन्। संघको २२औं वार्षिक साधारणसभाबाट तुलाधर दोस्रो कार्यकालका लागि संघको अध्यक्षमा चयन भएका हुन्। तुलाधार गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्।
त्यस्तै साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईलाई चयन गरेको छ भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ। कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला चयन भएका छन्।
साधारणसभाले संघको कार्यकारी सदस्यहरुमा रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी, सिर्जना फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं, ललितपुर फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने चयन भएका छन्। कार्यसमिति सवै सर्व–सम्मत चयन भएको हो।
यसैगरी अध्यक्ष तुलाधरले शुक्रबार नै दुई कार्यकारी सदस्यलाई मनोनित समेत गरेका छन्। अध्यक्ष तुलाधरले सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोगे्रसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरेका हुन्।
संघमा ५ सदस्यीय सल्लाहकार समिति समेत हुने व्यवस्था छ। शुक्रबारको साधारणसभामा नै अध्यक्ष तुलाधरले सल्लाहकार समितिका ५ मध्ये ३ जनालाई मनोनित गरेका छन्। उनले आइसीएफसी फाइनान्सका डेपुटी सिइओ सुनिल पन्त, रिलायन्स फाइनान्सका डेपुटी सिइओ 8प्रकाश श्रेष्ठ र जानकी फाइनान्सका महाप्रवन्धक रजनिशकुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।