आज चैत्र २८ गते। फेरि पनि सम्झिएँ, एकै व्याचका प्रिय मित्र सशस्त्र प्रहरी निरीक्षक स्वर्गीय दुर्गाबाबु पाठकलाई। जसलाई हामीले २०७२ चैत्र २८ गते कर्तव्य पालनाको सिलसिलामा धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा गुमाएका थियौं।
उसको भौतिक शरीर हामीमाझ नभए पनि उसका संगीतलाई मर्न नदिनको लागि 'दुर्गाबाबु पाठक संगीत स्मृति पुरस्कार' स्थापित छ। जुन हरेक वर्ष नेपाल एपीएफ स्कुलमा संगीततर्फ प्रथम हुने एकजना विद्यार्थीलाई प्रदान गरिन्छ। जुन पुरस्कारको क्रम अनन्तकालसम्म रहने हाम्रो विश्वास छ।
यसका साथै उसको निधनपछि ती यादहरू समेटेर करिब एक दर्जन लेख लेखियो होला। जहाँ ती रमाइला दिनका थुप्रै कहानी समेटिए। फेसबुक स्ट्याटस लेख्दै जाँदा धेरै नै विछिप्तपन झल्किएछ क्यारे। व्याची दीपक कोइरालाले त एक पटक भनेको थियो- ए साथी ! यति पागल पनि नबन्न यार!
उसका संगीतललाई सम्झँदै स्मृति पुरस्कारको बारे विभिन्न छापा माध्यममा करिब १०० भन्दा बढी समाचार प्रकाशित भएछन्। जुन सम्मान हामीले दिनै पर्ने थियो। उसले भरेका संगीतका धुनहरू हाम्रा कानमा आज पनि गुन्जिरहेका छन्। ती गीतसंगीत अजर-अमर रहने छन्। हजुरको देशमा हजुरकै मर्जी म त हजुर दुइ दिनको पाहुना, उसकै गीत हो यो। हुन त हामी सबै यो धर्तीका पाहुना हौं। हामी सबैको जाने बाटो एउटै हो र जुन अकाट्य छ। यत्ति हो, कोही यसरी नै सम्झना र यादका थुप्रै पोकाहरू छोडेर जान्छन्। अनि ती पोका सम्झँदै र हेर्दै हामी बितेका दिनहरू सम्झिरहेका हुन्छौं।
आज चैत्र २८ गते उसले हामीलाई छोडेर गएको पनि पाँच वर्ष पुगेछ। संगीत यात्रामा राम्रो कर्म गर्दै गरेको दुर्गा बाबुले आफ्ना सोलो एकल एल्बम बजारमा ल्याएको थियो भने खेलकुदमासमेत उसको उत्तिकै रुचि र क्षमता थियो। कसैकाप्रति भेदभाव नराख्ने र मनको सफा, बाेलीको विनम्रता, जिम्मेवारी पूरा गर्ने आदि सबै गुण उसमा थियो।
एउटै व्याचको भर्ना अनि एउटै युनिटको बसाइ सँगै-सँगैको दैनिकी, मस्त हाँसो, होहल्ला अनि एक-आपसको आत्मीय झगडा, यी सबै याद अनि ती दिन त मानसपटलमा ताजा-ताजा नै छन्। ती यादहरू खासमा मेटेर मेटाउन सकिन्न। न त बिर्सन नै सकिन्छ। दिन, महिना, वर्ष बित्दै जाँदा उसले छोडेर गएको समय धेरै हुने छन्। तर, ती दिनका सम्झना र यादहरू उस्तै ताजा छन् अनि अविस्मरणीय छन्।
शैलेन्द्र र दुर्गाबाबुउसले चर्को स्वरमा गाउँदा म झर्को मान्दै कराउँथे- कति हल्ला गर्छस्? ऊ भन्थ्यो- 'हल्ला होइन तँलाई मनोरञ्जन दिएको।' अब ती हल्ला हुन् वा मनोरञ्जन, सबै-सबै दूर भएका छन्। ती शब्द अब प्रत्यक्ष सुनिने छैनन्। तर, उसले गाएका गीत हाम्रा लागि कर्णप्रिय छन्। उसका याद गर्ने माध्यम छन्। एक अब्बल अधिकृत स्वर्गीय दुर्गाबाबु पाठक गीत लेख्थ्यो, संगीत भर्थ्यो र स्वर दिन्थ्यो। यो सबै क्षमता भएका कारण २०६० सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ स्टार प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो।
चितवनमै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिस्टको उपाधिसमेत प्राप्त गरेको थियो। उसका पक्षी र निन्द्रा लाग्दैन गरी दुई वटा एल्बमसमेत बजारमा आएका थिए। ऊ मेरो लागि खास थियो, आत्मीय थियौं। सबैसँग त्यो किसिमको आत्मीयता त कहाँ हुन्छ र! त्यस्तो आत्मीयताको लागि त नि:स्वार्थ मित्रता चाहिन्छ। ती सबै-सबै नै उसँग थियो र त खास थियो।
त्यसैले, फेसबुकका स्ट्याटसमा उसँगका स्मृतिका यादहरू पोखिए। अनि, तिनै यादहरूमा एकोहोरिएर शब्दमार्फत् अखबारका पानामा छापिए।अनलाइनका भित्तामा कोरिए। दीपकले भनेजस्तै पागलपन देखियो वा आत्मीय मान्छेलाई गुमाउनुपर्दाको पीडा र विछिप्तपन झल्कियो। आखिर जे भए पनि उसको संगीत कर्मलाई जीवन्त राख्ने प्रयास गरियो।
यसमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सम्पूर्ण प्रशिक्षार्थीको उत्तिकै योगदान रह्यो। यसमा थप मूर्तरुप दिने कार्यमा साथी शोभाकान्त ढकाल उत्तिकै खटियो। यी सबै कुराहरू सम्झँदै जाँदा प्रत्येक वर्ष उसको पुण्यतिथिमा सम्झनाका शब्दहरू पोख्दै आएँ। ती याद र सम्झनाका फेहरिस्त लामो छ। तर, थोरै शब्दमा उतार्न थालेको पनि पाँच वर्ष बितेछ। ती यादहरू जति पनि छन्, रहिरहने छन्।
प्रत्येक वर्ष तिनै दिनहरूलाई सम्झने मेसो त्यही कालो चैत्र २८ ले सम्झाइदिन्छ। सबै व्याचीहरू यसरी नै सम्झन्छन्। तर, सँधै यी पीडारुपी शब्दहरू मात्र किन? यस्तो प्रश्न पनि त उठ्न सक्छ, त्यसैले सोच्दै छु- अब लेखौं कि नलेखौं। तर, प्रत्येक वर्ष पीडा बनेर पोखिन्छन् यादहरू!
(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।