काठमाडौं- राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सरकारलाई अभूतपूर्व समर्थन मिलेको समयमा आएको नीति तथा तथा कार्यक्रमबारे फरक अपेक्षा रहे पनि विगतको निरन्तरता जस्तो देखिएको टिप्पणी गरेका छन्।
वाग्लेले स्थिर सरकारको लागि अनुकूल रहेको समयमा आएको नीति तथा कार्यक्रम विगतका अस्थिर सरकारको पारामा भएको प्रतिक्रिया दिए।
‘पुरानै विकासे शैलीमा नीति तथा कार्यक्रम आएको छ’, उनले भने, ‘बलियो सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शंकाको लाभ दिने अवस्था हो, तर सरकारले त्यो हक राखेन।’
उनले विश्वसनीय खाका प्रस्तुत गरेपछि मात्रै सरकारले शंकाको लाभ प्राप्त गर्ने बताए।
नेपालको मुख्य समस्या नै कार्यान्वयनमा चुक्नु भएको बताउँदै वाग्लेले फरक ढंगबाट कार्यान्वयन गर्छौं भन्ने प्रतिबद्धता नआएको बताए। नीति तथा कार्यक्रम र बजेटलाई संयोजन गरिसकेपछि सरकारको थप मूल्यांकन हुने बताए।
वाग्लेले वर्तमान सरकारको नीति तथा कार्यक्रम मार्फत आर्थिक रुपमा ठूलो प्रस्थान विन्दु हुने सोचिएकोमा उक्त अपेक्षा पूरा नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।