नुवाकोट– नुवाकोट निर्माण व्यवसायी संघले जिल्लामा बन्द गरिएको ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन र प्रशोधन कार्य खुल्ला गरिदिन सरोकारवाला निकायहरुसँग माग गरेको छ।
विदुरमा आज पत्रकार सम्मेलन गर्दै नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले सरकारले काम पनि छिटो गर भनेर दबाव दिने तर निर्माणजन्य सामाग्रीको उत्खनन पनि गर्न नदिने गरेकोले निर्माण व्यवसायीहरु दोहोरो मारमा परेको बताए।
सरकार र स्थानीय तहले समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखी कारबाही गर्ने तयारी गरिरहेको बेला व्यसायीहरुको यो धारणा सार्वजनिक भएको हो। व्यवसायीहरुले निर्माणजन्य सामाग्रीको मूल्य बढिरहँदा सरकार मौन बसेको तथा मुल्य नियन्त्रण गर्न पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। व्यवसायीहरुले मजदुर र निर्माणजन्य सामाग्रीको अभावले निर्माण कार्य समयमा नै सक्न मुश्किल भएको बताए।
नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष अधिकारीले सरकारको सबै निकायमा तिर्नुपर्ने सेवा शुल्क र कर तिरेपनि राज्यले व्यवसायीको मर्का नबुझेको गुनासो गरे। उनले सरकारले व्यवसायीहरुको मागको विषयलाई ध्यान नदिएको भन्दै यस्तै अवस्था रहिरहे घर निर्माणको समयसीमा असार मसान्तमा गुज्रने बताए।
सर्वोच्च अदालतले गतहप्ता मात्र नुवाकोटका क्रसर उद्योग बन्द गराउन आदेश दिएको थियो। सर्वोच्चको आदेश पालना गर्दै जिल्ला प्रहरी कार्यालयले नुवाकोटका क्रसर उद्योग बन्द गराएपछि जिल्लामा निर्माणजन्य सामाग्रीहरुको अभाव भएको छ। जसले घरनिर्माण गरिरहेका भुकम्पपीडितहरु मारमा परेका बताइएको छ।
व्यवसायीहरुले आफ्नो मागको विषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहमा पनि जानकारी दिने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।