काठमाडौं- २ वर्ष ४ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति ४० लाख ५० हजार रुपैयाँ बढेको छ। बुधबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्रीको नाममा रहेको बैंक खातामा मात्र ३५ लाख रुपैयाँ बृद्धि भएको छ। यही अवधिमा उनीसँग ४ तोला सुन पनि बढेको पाइएको छ।
दुई वर्षअघि उनी प्रधानमन्त्री रहँदा एभरेष्ट बैंकमा रहेको उनको खातामा ७ लाख रुपैयाँ थियो। अहिले ४२ लाख रुपैयाँ पुगेको छ।
ओलीले सो सम्पत्कोति स्रोत तलबभत्ता भएको दाबी गरेका छन्। तर, तलबभत्ताबाट मात्र प्रधानमन्त्रीले ३५ लाख रुपैयाँ आर्जन गर्ने सम्भावना छैन। अघिल्लो पटक उनी नौ महिना प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ७५ रुपैयाँ छ। यसपटक उनी प्रधानमन्त्री भएको ३ महिना मात्र भएको छ। जसअनुसार यो अवधिमा तलब भत्तावापत मात्र प्रधानमन्त्रीले ३५ लाख रुपैयाँ पाउने अवस्था देखिन्न।
पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ साल कात्तिक २३ गते उनले प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका थिए। यसपटक उनले फागुन २५ गते सम्पत्ति विवरण बुझाएका हुन्।
त्यस्तै, सुन उनको सुनको परिमाणसँगै श्रीमती राधिका शाक्यको नाममा रहेको बैंक खातामा पनि पैसा बढेको छ। अघिल्लो पटक उनले १३/१४ तोला सुन रहेको विवरण उल्लेख गरेका थिए। यसपटक १७/१८ तोला रहेको उल्लेख गरेका छन्।
प्रभु बैंकको खातामा ४ लाख ५० हजार रुपैयाँ रहेकोमा ६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी शाक्यको नाममा यसअघि राष्ट्रिय बचतपत्रमा १५ लाख रुपैयाँ रहेकोमा अहिले २५ लाख रुपैयाँ पुगेको छ।
२ वर्षअघि प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा माछापुच्छे बैंकमा ९ लाख ५० हजार रुपैयाँ थियो। अहिले सो खातामा ४ लाख रुपैयाँमा झरेको छ। अन्य अचल सम्पत्तिहरु भने बढेको छैन। प्रधानमन्त्री ओलीको नाममा भक्तपुरमा डेढ रोपनी जग्गा र २ वटा घर तथा झापामा १० कठ्ठा जग्गा छ।
समग्रमा यो अवधिमा प्रधानमन्त्रीको सम्पती ४० लाख ५० हजार नगद र करिब ५ तोला सुन बढेको छ।
गाडीलाई उनले आफ्नो सम्पतिमा राखेका छैनन्। प्रधानमन्त्री हुनुअघि उनी निजी गाडी चढ्दथे।
आइतबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। जसअनुसार प्रधानमन्त्री र १७ जना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।