काठमाडौं– ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस मसान्तभित्र विद्युत् उत्पादन हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष कुलमान घिसिङले सो आयोजनाबाट समयमै विद्युत् उत्पादन गर्नेगरी काम भइरहेको बताएका छन्। लिमिटेडको १०औं वार्षिक साधारणसभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले यो आयोजनालाई समयमै पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागिपरेको समेत उल्लेख गरे।
कार्यकारी निर्देशक घिसिङले ब्याज मात्र दैनिक १ करोड तिर्नुपर्ने अवस्थाबाट मुक्त हुन पनि यो आयोजनालाई समयमै सम्पन्न गर्नुको विकल्प नरहेको बताए। उनले आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न आयोजना सञ्चालक समिति र व्यवस्थापन पक्ष लागिपरेको पनि जानकारी गराए।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताए।
३५ अर्ब २९ करोड अनुमानित लागत रहेको यो आयोजनाको लागत बढेर ४९ अर्ब २९ करोड ५५ लाख पुग्ने अनुमान गरिएको छ। भूकम्पले पुर्याएको क्षतिका कारण पनि आयोजनाको लागत बढ्न गएको आयोजना व्यवस्थापन पक्षको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।