सल्लेरी– साेलुखुम्बुस्थित माथिल्लो सोलु जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ।
आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए। आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए।
जिल्लाका तीन ठूला पार्टीको नाममा ६ करोड रुपैयाँको शेयर जारी गरेको भन्दै जनप्रतिनिधिसहितको टोलीले विरोधसहित स्थानीयको नाममा शेयर जारी गर्नुपर्ने एक सुत्रीय माग राख्दै ताला लगाएको थियो। आयोजनाले कुनै पनि पार्टीको नाममा शेयर जारी नगरेको भन्दै मंगलबार भएको सहमतिअनुसार अब जारी हुने शेयर जनताको नाममा हुने सहमति पत्रमा उल्लेख गरिएको छ।
यस्तै, आयोजनाले अतिप्रभावित र प्रत्यक्ष प्रभावितकालागि संस्थापक शेयरबापत ४ लाख कित्ता शेयर वितरण गर्ने, साधारण शेयरसमेत सोलुदूधकुण्ड नगरपालिकालाई नियमअनुसार वितरणका लागि नियामक निकायसमक्ष पहल गर्ने सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा विभिन्न वडाका वडाध्यक्षसहितको उपस्थितिमा गरिएको सहमति पत्रमा प्रभावितका तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष मिङ्मार शेर्पा र वडा नम्बर ४ का वडाध्यक्ष दावागेलु पाख्रिनले हस्ताक्षर गरेका थिए। आयोजनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले हस्ताक्षर गरेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।