काठमाडौं- कतारका राजदूत युसुफ बिन महमद अल हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेको बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँगको शिष्टाचार भेटमा राजदूत हेयलले द्विपक्षीय लगानीको सम्झौता गरेर अगाडि बढ्न आग्रह गरेका छन्।
राजदूत हेयलले कतारले वैदेशिक लगानीका लागि जग्गा, भीसा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएको जनाउँदै नेपालले पनि उद्योगहरु खोल्न जग्गासहित अन्य सहयोग गरिदिन आग्रह गरे।
मन्त्री यादवले नेपाल सरकारसँग मिलेर लगानी गर्ने इच्छा व्यक्त गरेकोमा आभार व्यक्त गर्दै प्राप्त सम्भावनाका आधारमा लगानी गर्न सकिने बताए।
कतारमा चार लाख नेपाली कार्यरत रहेको भन्दै मन्त्री यादवले उनीहरुको सुरक्षा र अधिकारका विषयमा चासो व्यक्त गरेका थिए। नेपालले चिया, कफी र हाते कागज निर्यात गर्दै आएको उल्लेख गर्दै उनले रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न कतारी राजदूतसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।