ताप्लेजुङ– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ।
यसअघि ५ हजार ३ सय ३० रुपैयाँ भाडादर रहेकामा अहिले १ हजार ८ सय ६५ रुपैयाँ बढाएर ७ हजार १ सय ९५ रुपैयाँ पुर्याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए। वृद्धि भएको भाडादर जेठ १६ गतेदेखि लागू भएको छ। निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्र आएको राईले जानकारी दिए।
ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ। प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ।
यस वर्ष भने वर्षामा उडान स्थगन नहुने बताइएको छ। यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो। अहिले विमानस्थलको धावनमार्ग कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।