काठमाडौँ- निर्माण व्यवसायीको लापरबाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दसैंअगावै सम्पन्न हुन कठिन हुने भएको छ।
इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन। खानेपानी तथा सरसफाइ मन्त्रालयले पटक पटक निर्माण व्यवसायीलाई काममा तीव्रता दिन गरेको अनुरोधसमेत निर्माण व्यवसायी कम्पनीले अटेर गर्दै आएको छ। आगामी असोजभित्र काठमाडौँ उपत्यकामा पानी ल्याउने सरकारको योजनामा ढिलाइ भइरहेकामा मन्त्रालयले तीव्र असन्तुष्टि जनाएको छ।
कूल २७ किमी लामो सुरुङ गत चैत २७ गते निर्माण सम्पन्न भए पनि सुरुङभित्र गर्नुपर्ने काम अगाडि बढ्न सकेको छैन। दैनिक ३ सय मिटरभन्दा बढी सुरुङ मर्मतको काम हुनुपर्नेमा ५० मिटर मात्रै काम भइरहेको छ। 'पटकपटक सहमति गर्ने, काम गर्छु भन्ने प्रतिबद्धता जनाउने तर काम नगर्ने प्रवृत्ति देखियो। यसले हामीलाई गम्भीर बनाएको छ तर जसरी भए पनि निर्माण व्यवसायीलाई काम गराउने पक्षमा हामी छौँ', खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले भने।
सुरुङ निर्माण सकिए पनि सुरुङको मर्मत, बाँधस्थलको निर्माण, सुरुङभित्रको गतिविधि अवलोकन गर्ने विद्युतीय प्रणाली जडान, हावा फाल्ने विन्दुको पहिचान एवं जडानलगायत पाँच काम सम्पन्न गर्नुपर्नेछ। निर्माण व्यवसायीले गत बैसाख १८ गतेदेखि काम तीव्र पार्ने, निर्माण सामग्री तथा जनशक्ति, निर्माण उपकरणको व्यवस्थापन गरेर कार्ययोजनानुसार नियमित र तीव्रताका साथ काम गर्ने र आगामी साउन ३० गतेसम्म मेलम्चीको पानी सुन्दरीजलमा खसाउने सहमति जनाए पनि सहमति अनुसार पछिल्लो एक महीनामा आयोजनामा देखिने गरी कुनै पनि काम हुन सकेको छैन।
तोकिएबमोजिम काम नभएपछि गत बैसाख २५ गते मन्त्रालयको आग्रहबमोजिम परामर्शदाताले ठेकेदारलाई समयमा किन काम नभएको भनी सचेत गराएको सचिव बिसीले जानकारी दिए। गत बैसाख २७ गते खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ऋणदाता एसियाली विकास बैंक, मेलम्ची खानेपानी विकास समिति र परामर्शदाता कम्पनीले संयुक्त बैठकले कार्यप्रगति हुन नसकेको विषयमा के भएको हो भन्ने जिज्ञासा राखेकी थिइन्।
सचिव बिसीका अनुसार उक्त बैठकमा निर्माण व्यवसायीले कार्ययोजनानुसार द्रुतगतिमा काम अगाडि बढाउने र तीन हप्ताभित्र परियोजनास्थलमा मन्त्रालयको उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्थलगत अनुगमनका लागि आमन्त्रण गरे पनि यही जेठ १६ गते मन्त्रालयको उच्चस्तरीय प्रतिनिधिमण्डल निर्माणस्थल पुग्दा तोकिएअनुसारको काम नभएको पाइएको थियो।
निर्माण व्यवसायीले कम्पनीको आन्तरिक विवाद देखाई उच्च व्यवस्थापकबाट सहयोग नभएको, इटालीबाट रकम उपलब्ध नभएको, कामदारलाई भुक्तानी गर्न नसकिएको, निर्माण सामग्री नभएको जस्ता कारण देखाएर काममा आलटाल गर्दै आएको पाइएको उनको भनाइ छ।
निर्माण व्यवसायीले हालसम्म २७ किमी लामो सुरुङमध्ये ६ किमी सुरुङ मर्मत गर्नुपर्नेमा एक किमी मात्रै सम्पन्न भएको छ। मन्त्रालयले मनसुनअगावै निर्माण सामग्री, उपकरण सञ्चिती र तयारी अवस्थामा राखेर कार्ययोजनामा प्रतिबद्धता व्यक्त गरेअनुसारको कार्यतालिकानुसार अनिवार्य रुपमा काम सम्पन्न गर्न निर्देशन दिएको छ। सचिव बिसीले भने, 'अब निर्माण व्यवसायीको कुनै पनि बहाना स्वीकार गर्न सकिँदैन। यो सरकारको स्पष्ट धारणा हो। काममा ढिलाइ गरेर राष्ट्रिय गौरवको आयोजनालाई पर धकेल्न पाइँदैन।'
उच्च व्यवस्थापकलाई पत्र
मन्त्रालयले सिएमसीको मुख्यालय इटालीमा नै पत्र पठाई काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको छ। सचिव बिसीका अनुसार कार्यतालिकानुसार काम गर्न पत्र पठाइएको छ। सो पत्रमा उच्च व्यवस्थापकलाई नेपाल भ्रमण गर्न र समस्या समाधान गर्नसमेत आग्रह गरिएको छ।
सचिव बिसीले त्यसो गर्दासमेत निर्माण प्रभावकारी रुपमा अगाडि नबढे र सम्झौता पालन नभए जस्तोसुकै कारवाही गर्नसमेत आफूहरु बाध्य हुने बताउनुभयो।
निर्माण व्यवसायीले भूकम्प तथा अन्य कारण देखाएर थप रु एक अर्ब ६५ करोड थप उपलब्ध गराउनुपर्ने माग राख्दै आएको छ। सोमध्ये रु २८ करोड भने आयोजनाले भुक्तानी गरिसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।