काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकार आएसँगै पेट्रोलियम पदार्थमा पाँच पटक मूल्य वृद्धि भएको छ। फागुन ३ गते देशको नयाँ प्रधानमन्त्रीको रुपमा ओली आएपछि ६ पटकसम्म मूल्य समायोजन गरिएकोमा ५ पटक वृद्धि गरिएकाे हाे।
नेपाल आयल निगमका अनुसार ५ पटकमा गरी पेट्रोलको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढेको छ। फागुन ३ मा ओली नेतृत्वमा आउँदा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ कायम थियो। फागुन २० गते पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेर १ सय ३ रुपैयाँ कायम भयो। तर, त्यसपछिको ३ महिनाको अवधिमा सरकारले ५ पटक गरी प्रतिलिटर ९ रुपैयाँ मूल्य बढाएको छ।
सरकारले एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको १ महिनापछि चैत १९ गते २ रुपैयाँ मूल्य बढाएर १ सय ५ रुपैयाँ पुर्याएको थियो। त्यस्तै २०७५ बैसाख ३ गते प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएर १ सय ६ रुपैयाँ कायम गर्यो। बैसाख १९ गते पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेर १ सय ८ रुपैयाँ पुग्यो।
फेरी सरकारले जेठ २ गते पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गर्दै १ सय १० रुपैयाँ निर्धारण गर्यो। पुनः जेठ १९ गते सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएर १ सय १३ रुपैयाँ कायम गरेको छ।
साथै डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।