काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएकाले नेपालबाट तेल तस्करी भइरहेको बताएका छन्।
सोमबारको संसद बैठकमा उनले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको भन्दै मुल्य वृद्धिको बचाउ गरे। ‘अहिले पनि नेपालबाट दिनको धेरै मात्रामा तेल बोर्डर पारि जाने गरेको छ, गाडी आउँछन् तेल भर्छन्,’ उनले भने, ‘अझै तेल घट्यो भने आयल निगम डुब्ने अवस्था हुन्छ।’
गत शनिबार मूल्यवृद्धिपछि पनि आयल निगमलाई ३७ करोड रुपैयाँ घाटा रहेको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बचाउ गरेका हुन्।
सोमबारकै संसदमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद उमा रेग्मीले यो सरकार बनेयता ५ पटक मूल्यवृद्धि भएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्य वृद्धि गरेर के गर्न खोजेको भनी प्रश्न गरेकी थिइन्।
मन्त्री यादवले भने विगतमा पेट्रोलियम पदार्थको मूल्यमा राजनीति हुँदा आयल निगम करोडौं घाटामा गएको र तेलको भुक्तानी दिन नसक्दा सरकार जमानी बसेर ऋण खोजिदिनुपर्ने अवस्था रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।