काठमाडौं- सरकारले लागू गरेको पुँजीगत लाभकरमा असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरुले थालेको आन्दोलन माग सम्बोधन नभएसम्म जारी रहने इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेलले बताएका छन्।
बजेट मार्फत सरकारले पुँजी बजारका व्यक्तिगत लगानीकर्ताका लागि निर्धारण गरेको पुँजीगत लाभकर अव्यावहारिक भएको भन्दै सेयर लगानीकर्ता आन्दोलनमा उत्रेका छन्। सोमबार बिहानैदेखि नेपाल स्टक एक्सचेन्ज घेरेर आन्दोलनमा उत्रिएका लागीकर्तालाई अर्थ मन्त्रालयले वार्तामा बोलाएको थियो। उक्त वार्तामा पुँजीगत लाभकरको अव्यावहारिकता, लगानीकर्तालाई परेको समस्याबारे मन्त्रालयलाई जानकारी दिएको अध्यक्ष पौडेलले बताए।
सरकारले बोलाएको वार्तामा लगानीकर्ताको तर्फबाट इन्भेष्टर फोरमका अध्यक्ष पौडेल, लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी उपाध्यक्ष राधा पोख्रेल, ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता लगायत उपस्थित थिए।
सरकारले हकप्रद र बोनस सेयरमा कर लगाउँदा आधार मूल्यमै लगाउन धितोपत्र बोर्ड तथा स्टक एक्सचेन्जलाई राजस्व विभागले निर्देशन दिएपछि लगानीकर्ता अक्रोशित बनेका हुन्।
सरकारले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि पुँजीगत लाभकर साविक ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको थियो। सरकारले पुँजीगत लाभकर आइतबारबाट लागू गरेसँगै बजार नकारात्मक बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।