काठमाडौं- वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका कामदारका परिवार तथा अंगभंग र बिरामी भएर फर्किएकाहरुले पाउने क्षतिपूर्ति स्थानीय तहबाटै वितरण गर्ने तयारी थालिएको छ।
यस्ता पीडितहरुले अहिलेसम्म वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत नै क्षतिपूर्ति पाउँदै आएका छन्। जसका कारण रोजगार पीडित कामदार र तिनका परिवारका सदस्य क्षतिपूर्ति रकम लिन काठमाडौंसम्म धाउनुपर्ने बाध्यता छ। स्थानीय तहबाट क्षतिपूर्ति वितरण सुरु गरे उनीहरुलाई निकै सहज हुने बोर्डका निर्देशक धीरकुमार श्रेष्ठले बताए।
यसरी विदेशमा मृत्यु भएका तथा घाइते वा बिरामी भई फर्किएका एक हजारभन्दा बढीलाई वार्षिक रुपमा बोर्डले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारका परिवारले बिमा र बोर्डमार्फत १७ लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्। यस्तै, अंगभंग, घाइते र बिरामी भएर फर्किएका कामदारलाई घटनाको प्रकृतिका आधारमा आर्थिक सहयोग बोर्डले उपलब्ध गराँउछ।
बोर्डले मृतक कामदारका सन्तानलाई शैक्षिक छात्रावृत्ति र विभिन्न शीर्षकमा प्रविधिक र रोजगारमूलक तालिम पनि प्रदान गर्दै आएको छ। बोर्डमार्फत विभिन्न शीर्षकमा नि:शुल्क वार्षिक २० हजार जना तालिममा सहभागी हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।