काठमाडौं– घर–जग्गाको कारोबार घटेको छ। नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनमा यस वर्ष घर–जग्गा रजिष्ट्रेशनको संख्यामा २० दशमलब ५ प्रतिशतले गिरावट आएको जनाएको छ। राष्ट्र बैंकका अनुसार गत वर्षको यस अवधिमा रजिष्ट्रेशनको संख्या ६० दशमलब ७ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकले ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षण अनुसार घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ७ अर्ब ९४ करोड रुपैयाँमा खुम्चीएको छ। यो अघिल्लो वर्षको तुलनामा २१ दशमलब ५ प्रतिशतले कम हो।
मुलुक संघियतामा गएकाले घर–जग्गाको कारोबार घटेको राष्ट्र बैंकले जनाएको छ। ‘देशमा सम्पन्न भएका तीन तहका निर्वाचनपश्चात् स्थानीय तहमा सरकारको अनुभूति हुने गरी संविधान प्रद्दत्त अधिकारबाट स्थानीयस्तरमा नै सरकारी सेवा सुविधा प्रवाह हुने कारणबाट ग्रामीण इलाकाबाट मानिसहरु शहरी क्षेत्रमा आउने क्रम रोकिन गएको’, राष्ट्र बैंकको स्थलगत सर्वेक्षणमा उल्लेख छ। साथै बैंकको मौद्रिक नीति तथा निर्देशनहरुबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने घरजग्गा सम्बन्धी कर्जामा कडाई गरेको र विप्रेषणको आप्रवाहमा कमी आएको कारण कारोबारमा कमी भएको जनाएको छ।
घर–जग्गा रजिष्ट्रेशन संख्यालाई क्षेत्रगत रुपमा हेर्दा पोखरा र विराटनगर क्षेत्रमा बढेको देखिन्छ भने बाँकी सबै क्षेत्रमा घटेको छ। त्यसैगरी, घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन विराटनगर क्षेत्रमा बढेको छ भने अन्य सबै क्षेत्रमा घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।