काठमाडौँ- हावाहुरी र प्रसारण लाइन मर्मतका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट ७३ मेगावाट विद्युत् बाहिरिएको छ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हावाहुरीका कारण आइतबार अपराह्नदेखि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट र मैलुङखोला जलविद्युत् आयोजनाको ५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ।
चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइनका केही स्थानमा हावाहुरीका कारण विद्युत् आपूर्ति बन्द भएको छ। उक्त प्रसारण लाइन मर्मतका लागि प्राधिकरणको प्राविधिक समूह परिचालन भइसकेको जानकारी दिँदै प्रवक्ता अधिकारीले समस्या उत्पन्न भएका स्थानमा मर्मत भइरहेको बताए।
यस्तै आइतबारदेखि कुलेखानी दोस्रो परियोजनाको एक युनिटमा समस्या उत्पन्न भई ४६ मेगावाट विद्युत् उत्पादनमा समस्या भएको छ। सो आयोजनाको पहिलो र दोस्रो एकाइबाट ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो।
यस्तै मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारण लाइन टावर मर्मतका लागि बन्द गरिएको छ। त्यस्तै टनकपुर–भीमदत्तनगर १३२ केभी प्रसारण लाइन नियमित मर्मतसम्भारका लागि बन्द भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।