काठमाडौं- तेस्रो साकोस शिखर गोष्ठी–२०७५ जेठ २४ र २५ गते काठमाडौंको सोल्टी होटलमा हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजनामा हुने गोष्ठीमा देशभरका बचत तथा ऋण सहकारी संस्थाको सहभागिता रहनेछ।
तेस्रो गोष्ठीको उद्देश्य राज्य व्यवस्थापनका तीन वटै तहमा रहेका कानुनी पक्ष र यसले सहकारी अभियानमा पार्ने प्रभाव र व्यवस्थापनका विषयमा जानकारी गराउनु रहेको नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले बताए। उनले जोखिममा आधारित अनुगमन, एकीकरण र अभियानको सुरक्षाका लागि स्थिरीकरण कोषमा सहकार्यका क्षेत्रहरुको पहिचान गर्ने, साकोसको संस्थागत विकासमा सहयोग गर्न उच्चतम प्रविधिको विकास गर्ने लगायत विषयमा गोष्ठी केन्द्रित रहने बताए।
संघले साकोसको वृद्धि र विकासका क्षेत्रमा भएका उपलब्धि, चुनौती लगायतका विषयमा योजनाविद्, विश्लेषक, विकास साझेदार, साकोससँग सम्बन्धित व्यक्तिहरुसँग बृहत् अन्तर्क्रिया गर्ने उद्देश्यले गोष्ठीको आयोजना गर्न लागिएको नेफ्स्कूनका उपाध्यक्ष तथा साकोस शिखर गोष्ठीका संयोजक परितोष पौड्यालले बताए।
नेफ्स्कूनले पहिलो पटक २०६८ सालमा साकोस शिखर गोष्ठी गरेको थियो भने दोस्रो गोष्ठी २०७१ मा गरेको गरेको थियो।
संघले साकोसलाई व्यवस्थित गर्न साकोस एकरुपता प्रणाली कार्यान्वयनमा ल्याइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।