काठमाडौं– इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले जितपछि प्रतिक्रिया दिँदै कति कुरा जीवनमा बुझ्न नसकिने बताएका छन्। आफूले उक्त टाइटल जितेको क्षण सपना जस्तै रहेकाे बताउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘जितेको क्षण मैले केही भेउ पाउन सकेको थिइनँ,’ उनले बलिउड लाइफसँग भने, ‘ मलाई अरुले आएर उठाए। लागिरहेको थियो– यो कसरी सम्भव भयो? जीवनमा कति यस्ता कुरा हुन्छन्, जुन हामी बुझ्न सक्दैनौं।’
आफूले ट्रफी प्राप्त गर्दा पनि उतिसारो सहज महसुस गर्न नसकेको उनले बताएका छन्। उनले भने, ‘किनकि यो जितका हकदार हामी सवै थियौं।’
उनले अन्तिमसम्म आइपुग्दा ट्रफीको व्यक्तिगत लोभ नरहेको उल्लेख गरे। प्रतिक्रिया छ, ‘अन्तिम स्पर्धा गरिरहँदा लागिरहेको थियो, जसले जितेपनि हामी साथीहरुकै हातमा आउँदैछ। हामी त एक परिवार हौं।’
६ जना नै केदारनाथ जाने
इन्डियन आइडल जितेपछि सवैभन्दा पहिले केदारनाथ जाने तय पवनदीपले गरेका छन्। उनीसँगै अन्तिम प्रतिस्पर्धामा रहेका अन्य पाँचजना पनि सँगै हुनेछन्। उनले भने, ‘अब हामी सवै केदारनाथ पुगेर दर्शन गर्छौं। त्यसपछि अरु योजना बनाउँला।’ त्यसपछि मुम्बईमा आफ्नै रेकर्डिङ स्टुडियो बनाउने उनले बताएका छन्।
मुम्बईमा सबै नजिकै बस्ने
अन्तिम स्पर्धामा पुगेका ६ जना नै मुम्बईमा नजिकै डेरा लिएर बस्ने योजना बनाएकाे उनले बताए। आफूहरुको आगामी यात्रा एक साथ अघि बढ्ने बताउँदै सकेसम्म नजिकै बसोबास गर्ने उनको भनाइ छ।
आफूसँग टप थ्रीमा पुगेकी अरुणिता कान्जिलाल र सायली काम्लेलाई उनले बधाइ दिए। भने, ‘हामी चाँडै मिलेर गीत गाउनेछौं।’
आफूहरुलाई नभइ एउटा टिमका रुपमा आगामी दिनमा देख्न पाइने उनको भनाइ छ।
नसोचेको दिन
इन्डियन आइडलको अडिसन दिँदा आफू असाध्यै डराएको उनले बताएका छन्। तर, यो ९ महिनामा आफूमा भरपुर आत्मविश्वास आएको उनले बताए। उनले भने, ‘यो ९ महिना मेरो जीवनको महत्त्वपूर्ण समय हो। यसले मलाई धेरैथोक दियो, धेरैथोक सिकायो।’
यो ९ महिनामा आफूलाई तालिम दिने नीरज कालकार, मंगल मिश्रा र सचिनी वाल्मीकिप्रति अनुग्रहित रहेको उनले बताए। उनले भने, ‘आजको यो आत्मविश्वास यिनै गुरुहरुका कारण आएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।