काठमाडौं- सरकारले बजेटमार्फत पुँजी बजारमा लाभकर लगाएपछि अन्दोलनमा उत्रिएका लगानीकर्ताको माग सम्बोधन भएपछि बुधबार सवा १ बजेदेखि सेयर कारोबार खुलेको छ। माग सम्बोधन नभएसम्म कारोबार ठप्प बनाउने लगानीकर्ताको योजना अनुसार मंगलबार र बुधबार आधा समय सेयर कारोबार ठप्प भएको थियो।
बुधबार कारोबारको आधा समय सकिसकेपछि खुलेको सेयर बजारमा लगानीकर्ता उत्साहित भएका छन्। बजार खुलेबाट नै उकालो लागेको बजार अन्ततः १३ दशमलव ९१ अंकले बढेर १२ सय ८२ दशमलव ७५ को बिन्दुमा आइपुगेको छ।
आज १३८ कम्पनीको २३ करोड ८९ लाख ३ हजार ३४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कारोबारमा आएको अन्य समूहबाहेक अरु सबै समूहमा हरियाली छाएको छ। अन्य समूह ९ दशमलव १ अंकले घटेको छ।
बिमा समूह सर्वाधिक १४४ दशमलब ९९ अंकले बढेको छ। लघुवित्त समूह ३४ दशमलब ९८ अंकले, होटल समूह ३०.०३ अंक, जलविद्युत् समूह २४.५३ अंकले बढेको छ।
बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको संस्थापक सेयरको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै मेगा बैंकको १ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५ रुपैयाँ अर्थात् १० प्रतिशतले बढेको छ। त्यस्तै, खानिखोला हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता ६ रुपैयाँ कमाएका छन्। यता, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ४६ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।