काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रको कर्जा प्रवाह बढाएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्षको तुलनामा ११ दशमलब ९ प्रतिशत कर्जा प्रवाह बढाएको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ७ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले ५७ जिल्लामा गरेको स्थलगत सर्वेक्षणअनुसार सबैभन्दा बढी खानी सम्बन्धी उद्योगमा कर्जा प्रवाह बढेको छ। उक्त क्षेत्रको उद्योगमा ४६ दशमलब ६ प्रतिशतले बढेको छ। यता निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह भएको छ। सो क्षेत्रमा ७ दशमलब ४ प्रतिशत कर्जा प्रवाह बढेको छ।
यसैगरी, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४४ दशमलब ५ प्रतिशत, विद्युत, ग्याँस र पानी सम्बन्धी उद्योगमा १३ दशमलब ८ प्रतिशत, उत्पादन सम्बन्धी उद्योगमा ११ दशमलब ८ प्रतिशत र पर्यटन उद्योग÷ सेवा सम्बन्धी उद्योगमा ९ दशमलब ८ प्रतिशतले कर्जा प्रवाहमा विस्तार भएको स्थलगत सर्वेक्षणमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौं क्षेत्रको अंश ५८ दशमलब ३ प्रतिशत, विराटनगर क्षेत्रको अंश ११ दशमलब ५ प्रतिशत, जनकपुर क्षेत्रको अंश १ दशमलब ८ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश ९ दशमलब ७ प्रतिशत, पोखरा क्षेत्रको अंश ६ दशमलब ६ प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ६ दशमलब ८ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३ दशमलब २ प्रतिशत र धनगढी क्षेत्रको अंश २ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
‘एकातिर अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको र ठूलो आकारको कर्जा स्वीकृतिको अधिकार पनि केन्द्रीय कार्यालयमा रहने र अर्कोतर्फ काठमाडौंबाट ऋण स्वीकृति गराएर अन्यत्र लगानी गर्ने प्रवृत्तिको कारणले पनि काठमाडौंमा औद्योगिक कर्जा प्रवाहको अनुपात उच्च देखिएको हो’, राष्ट्र बैंकले ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।