काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असार २५ भित्र आगामी आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गर्नेगरी त्यसको विस्तृत कार्ययोजना पेस गर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।
आगामी आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बद्ध मन्त्रालय पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन्।
सरकारले १५ जेठमै बजेट ल्याए पनि त्यसको कार्यान्वयन भने आगामी साउनदेखि मात्रै हुनेछ।
सम्बन्धित क्षेत्रको वास्तविक विद्यमान अवस्था र आगामी आवभित्र गर्न सकिने योजना समेटिने गरी कार्ययोजना पेस गर्नुपर्ने निर्देशन प्रधानमन्त्रीबाट भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । ‘पाँच वर्षलाई आधार वर्ष बनाएर वर्षैपिच्छे गर्न सकिने कामको योजना पेस गर्न प्रधानमन्त्रीबाट सबै मन्त्रालयलाई निर्देशन भएको छ,’ उनले भने।
एक वर्षपछि पेस गरेको कार्ययोजना बमोजिम कार्य भए/नभएको अनुगमन र मूल्यांकनसमेत हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।